सप्तरीमा जोर–बिजोर प्रणाली लागु हुँदै, कुन सवारी कहिले चल्ने ?

राजविराज, १८ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणमा पनि बजारमा भीडभाड हुने गरेकाले सप्तरीमा सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय गरिएको छ । शनिवार प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भोली (वैशाख १९ गते)बाट सवारी साधनमा जोर–विजोर प्रणाली लागु गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु हुनेछ । जसअनुसार भोली (वैशाख १९ गते) विजोड नम्बरका सवारी साधन चल्ने जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद धमलाले मधेशलाइभलाई जानकारी दिए । ‘भोली १९ गते विजोड नम्बरका सवारी साधन चल्नेछ’ उनले भने–‘त्यसैगरी जोड गतेमा जोड नम्बरका सवारी साधन चल्नेछ ।’

बैठकबाट बढी भीडभाड हुने भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने, बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय समेत भएको छ ।

यसैगरी राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने निर्णय भएको छ भने गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा रहेको आइसोलेशन केन्द्र तीन दिनभित्र सञ्चालनमा ल्याउनकालागि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु)लाई जिम्मेवारी दिइएको छ ।

आइसोलेसनको सुरक्षा व्यवस्था भने साविक अनुसार नै नेपाली सेनाले गर्ने निर्णय भएको छ । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकास्थित जिल्ला अस्पताल हाताभित्र रहेको आइसोलेसन सेन्टर पाँच दिनभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन नगरप्रमुखलाई अनुरोध गर्ने र गजेन्द्रनारायण सिंह अस्प्तालमा ल्याव तथा अन्य स्वास्थ्य जनशक्ति पदपूर्तिकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र भारदह अस्पतालको आइसोलेसन सेन्टरमा चाहिने जनशक्तिका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।

भोलीबाट दैनिक निःशुल्क पिसिआर

भोली (आइतवार)बाट गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक निःशुल्क पिसिआर परीक्षण हुने भएको छ । बैठकबाट भएको निर्णय अनुसार दैनिक रुपमा निःशुल्क स्वाव परिक्षण गर्ने व्यवस्था मिलाउन अस्पतालका मेसुलाई जिम्मा दिइएको छ ।

यसैगरी कोभिड–१९ संक्रमणबाट बाहिरी जिल्लामा उपचार गर्दागर्दै मृत्यु भएकाको हकमा सप्तकोशी नदीको किनारमा र अन्यको हकमा आ–आफ्नो स्थानीय तहले धार्मिक परम्परा अनुसार शवको अन्त्येष्ठी गर्ने निर्णय भएको छ ।

यसैगरी स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसन केन्द्र, एम्बुलेन्स, शव वाहन चालु अवस्थामा राख्न सबै स्थानीय तहलाई अनुरोध गर्ने र स्थापना भएका आइसोलेसन केन्द्रमा टेलिमेडिसिन सेवाको व्यवस्थापन गजेन्द्रनारायण सिंह अस्पताले मिलाउने निर्णय भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस