नेपाली चलचित्रले मधेसीलाई हेप्छन् ?

जनकपुरधाम । बजार विस्तारको कुरा भइरहँदा नेपाली चलचित्रले विदेशी दर्शकलाई पनि समेट्नुपर्छ भन्ने आवाज उठिरहेको छ । विदेशी बजार खोज्न नेपाली चलचित्रले प्रयत्न सुरु गर्नुपर्ने बताइरहँदा नेपालकै मधेसी भू–भागलाई समेटेको छ ? स्वयं चलचित्रकर्मीहरु नै भन्छन्– छैन । मधेसकै प्रतिनिधित्त्व गर्ने चलचित्रकर्मी त भन्छन्– नेपाली चलचित्रले हामीलाई मजाक बनाएर उडाइरह्यो ।

तराईवासी नेपालीलाई पहिला समेटेर विदेशी बजारतर्फ लाग्नुपर्ने चलचित्रकर्मीहरुको तर्क छ । नेपालको झन्डै ५० प्रतिशत जनसंख्या रहेको तराईलाई नजरअन्दाज गरेकै कारण नेपाली चलचित्रको आन्तरिक बजार खुम्चिरहेको निर्देशक दिनेश राउत बताउँछन् ।

यसलाई निर्देशक नवीन सुब्बा ‘समावेशीताको अभाव’ भन्छन् । नेपाली चलचित्र कला, संस्कृति, भाषा, साहित्य र विषयसँगै भौगोलिक हिसाबले पनि समावेशी नरहेको उनी बताउँछन् । केही सीमित ठाउँ विशेषका मात्रै कथा आएको नवीनको भनाइ छ ।

“नेपाली चलचित्रमा मधेसका कथा खोइ ? अझै पनि सीमित ठाउँका सीमित वर्ग विशेषका कथाहरु मात्रै आएका छन् । धेरैका कथाहरु आएका छैनन्,” नवीन भन्छन्, “चलचित्रमार्फत आउनैपर्ने कथाहरु आएका छैनन् । धेरै भनिनुपर्ने कथाहरु मेकरले भन्न सकेकै छैनन् । हामीले आफ्नै ठाउँ विशेषलाई समेट्न सकेका छैनौँ ।”

निर्देशक दिनेश राउत पहिला तराईका कथाहरु भन्नुपर्ने बताउँछन् । तराई र तराईवासीका कथाहरु नभनेसम्म नेपालको मधेसले नेपाली चलचित्र आफ्नो नठान्ने उनको भनाइ छ ।

“अहिलेसम्म हामीले तराईका कथा चलचित्रमा भन्न सकेका छैनौँ । जबसम्म चलचित्रले तराईको यथार्थ र समस्या देखाउन सक्दैन, तबसम्म मधेसले नेपाली चलचित्रमा आफ्नो अपनत्त्व लिँदैन,” दिनेश भन्छन्, “झन्डै आधा जनसंख्या रहेको तराईलाई नेपाली चलचित्रले सम्बोधन गर्दैन भने उनीहरुले हाम्रो चलचित्र किन हेर्छन् ?”

नेपाली चलचित्रले तराई र तराईवासीलाई गतल तरिकाले प्रस्तुत गरिरहेको उनी बताउँछन् । तराईको कथा र चरित्र भन्नेबित्तिकै गरिब र कबाडी उठाउने, चटपटे र ठेलामा सब्जी बेच्ने मात्रै देखाउने गरिएको र यो नै गलत भएको दिनेशको निष्कर्ष छ ।

“तराईको कथा भन्नेबित्तिकै काठमाडौंमा आएर कबाडी उठाउने र कपाल काट्ने मात्रै हो भन्ने देखाइरहेको अवस्था छ,” दिनेश भन्छन्, “जानेर होस् अथवा नजानेर मधेसीलाई नेपाली चलचित्रले होच्याउने, हेप्ने र हियाउने काम गरिरहेका छन् । जबसम्म नेपाली चलचित्रले तराई मूलका नागरिकलाई यसरी प्रस्तुत गर्छन्, तबसम्म नेपाली चलचित्र त्यो भू–भागमा मन पराइने छैन ।”

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रायः पूर्व–पश्चिम राजमार्गको छेउमा मात्रै सिनेमा हल छन् । र, राजमार्ग छेउमा अक्सर पहाडबाट बसाइँ सरेर आएका पहाडी समुदायको बसोबास छ ।

“मधेसी चरित्र देखाएका नेपाली चलचित्रको नियत ठिक छ ?” निर्देशक हेमराज बिसी प्रतिप्रश्न गर्छन् । खराब नियत नराखेर भने मधेसीको लबज प्रस्तुत गर्न सकिने उनी बताउँछन् । “कसैलाई होच्याउन वा तल देखाउन पाइँदैन । कसैको मजबुरी र लाचारीलाई जोक बनाएर हँसाइन्छ भने त्यो गलत हो,” हेमराज भन्छन्, “नेपाली चलचित्रमा अहिलेसम्म प्रायः भइरहेको यही नै हो । सपोर्ट गर्न खोजेजस्तो देखाएर हसाउने निहित उद्देश्य रहेको देखिन्छ । यही नै गलत भइरहेको छ ।”

सिनेमाको कुनै भाषा हुँदैन भनिए पनि यसले केही न केही असर गर्छ । कारण नेपाली चलचित्रको सिनेम्याटिक ल्यांग्वेज अब्बल छैन । यसमा सिनेमा लिट्रेसी र सिनेमा कल्चरले असर गर्छ । नेपालमा कमजोर सिनेमा लिट्रेसी रहेको र सिनेमा कल्चर नरहेका कारण तराईको राजमार्गभित्र रहेका बस्तीमा नेपाली भाषा नबुझ्नेको संख्या पनि ठूलो रहेकाले यसको प्रभाव पनि पर्ने हेमराज बताउँछन् ।

उनी भन्छन्, “सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतबाट आफैँले बोल्ने तथा बुझ्ने भाषामा चलचित्र आउँछन् । यस्तो अवस्थामा आफूले नबुझ्ने वा बुझे पनि आफैँलाई होच्याउने, हिसाउने र हेपेर बनाइएका चलचित्र उनीहरुले किन हेर्ने ?”

यो प्रश्न केही वर्षअगाडि वीरगन्जमा अभिनेता प्रमोद अग्रहरीलाई स्थानीय केही युवाले सोधे । गौरी मल्ल, करिष्मा मानन्धरसँग बजारमा प्रमोद हिँडिरेहका थिए । केही युवाले उनलाई ‘फलो’ गरिरहेका थिए । प्रमोदले नै उनीहरुलाई बोलाए । ती युवाले प्रमोदलाई भने, “दाइ सुन्तलीमा खेल्ने तपाईं नै होइन ?”

प्रमोदले सोधे, “नेपाली फिल्म हेर्छौ ?”

उनीहरुको जवाफ थियो, “सुन्तली हेर्‍यौँ । यो चलचित्रचाहिँ आफ्नै चलचित्र हेरेजस्तो लाग्यो । हाम्रै खिल्ली उडाउने नेपाली चलचित्र के हेर्नु, खासै हेरिँदैन ।”

तोडमरोड गरिएको आफ्नो भाषा, गलत तरिकाले चित्रित गरिएको संस्कृति र आफैँलाई अपमान गरिएको चलचित्र तराईका नागरिकले नहेर्ने प्रमोद बताउँछन् ।

“जबसम्म तराईवासीले नेपाली चलचितत्रमा अपनत्व महसुस गर्दैनन्, तबसम्म नेपाली चलचित्र हेर्दैनन् । नेपाली चलचित्र तराईमा नहेरिनुको कारण पनि यही हो,” उनी अगाडि थप्छन्, “अझै हामीलाई मजाक बनाएर चलचित्र बनाउने हो भने मधेसलाई नेपाली चलचित्रले क्यास गर्न नसक्ने मात्रै होइन, भएका हलहरु बन्द हुने क्रम पनि बढ्नेछ ।”

मधेसी, जनजातिहरु अहिले पनि नेपाली चलचित्रको मजाक बनिरहेको भन्दै प्रमोद तराईलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म नेपाली चलचित्रमा मधेसले हेर्ने नजरमा पनि बदलाव नआउने बताउँछन् ।

समावेशी चरित्रलाई जुन तरिकाले प्रस्तुत गर्नुपर्ने हो, त्यसरी नगरिएको उनको गुनासो छ । चलचित्रको निर्माता, निर्देशक र लेखकसमेत तराई बुझेको हुनुपर्ने उनी बताउँछन् ।

“सायद, अब नेपाली चलचित्र समावेशी हुन प्रोडुसर नै तराईको नागरिक हुनुपर्ने हो कि ?,” उनी प्रश्न गर्छन्, “अथवा निर्देशक र लेखक पनि तराईवासी नै हुनुपर्ने पो हो कि ?” तराईको माटोको सुगन्ध नबुझ्नेले त्यहाँको वास्तविक चित्रण पनि गर्न नसक्ने भन्दै यो समस्याको समाधान नभएसम्म नेपाली चलचित्र र मधेसको दूरी पनि नसाँघुरिने प्रमोदको निष्कर्ष छ । बाह्रखरीबाट

Author:

क्याटोगरी छान्‍नुहोस