दुग्ध पदार्थ विक्री नहुँदा किसानले पाएनन् भुक्तानी

विराटनगर, १४ असार । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले प्रदेश १ र २ का समेत गरी ७ हजार दुग्ध किसानलाई चार महीनादेखिको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

आयोजनाले संकलित दूधको फागुन, चैत, वैशाख र जेठकोे भुक्तानी किसानलाई दिन बाँकी रहेको हो । निजी कम्पनीभन्दा भरपर्दो ठानेर सरकारी आयोजनालाई दूध बेचेका किसान उसैले भुक्तानी रोक्दा दैनिक गुजारा चलाउनै असहज हुने अवस्थामा पुगेको बताउँछन् इलामका किसान विष्णुप्रसाद दुराल ।

उनी सम्बद्ध उज्यालो कृषि सहकारीले दैनिक २ सय लिटर दूध दुग्ध वितरण केन्द्र विराटनगरलाई दिँदै आएको छ । उनको सहकारीलाई नै प्रतिलिटर न्यूनतम ४५ रुपैयाँको दरले हिसाब गर्दा पनि केन्द्रले १० लाख ८० हजार रुपैयाँ दिन बाँकी छ ।

किसानले दूधको रकम समयमा भुक्तानी नपाउदा गाईभैंसीलाई खुवाउने चोकर, दाना, भिटामिन लगायत किन्न सक्दैनन् । दूधको आम्दानीबाटै उनीहरूले घरको समेत खर्च चलाउनुपर्ने अवस्था छ । तर लामो समय भुक्तानी नपाउँदा आफूहरू निकै मर्कामा परेको किसान दुरालले बताए । आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस