मुख्यमन्त्री राउतद्वारा ‘प्रदेश हरित अभियान’ शुभारम्भ, १४ लाखभन्दा बढी विरुवा रोपिने

जनकपुरधाम, १४ असार । प्रदेश २ मा ‘प्रदेश हरित अभियान २०७८’ शुभारम्भ भएको छ । आज धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा आयोजना गरिएको कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले अभियानको शुभारम्भ गरेका हुन् ।

डिभिजन वन कार्यालय धनुषाद्वारा आयोजना गरिएको कार्यक्रमबाट मुख्यमन्त्री राउतले बर पिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन् । अभियानको शुभारम्भसँगै प्रदेशका आठ वटै जिल्लामा एकसाथ वृक्षारोपण सुरु भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरपारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत प्रदेशभर कुल १ हजार १३५ हेक्टर क्षेत्रफलमा १४ लाखभन्दा बढी विरुवा रोप्ने कार्यक्रम रहेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राम चन्द्र कडेँलकाअनुसार कुल १४ लाख ४६ हजार ७९६ वटा विरुवा रोपिनेछ । अभियान तहत सबै जिल्लामा मन्त्री तथा राज्यमन्त्रीहरु पुगेर विरुवा रोप्ने कार्यक्रम रहेको उनले बताए ।

जसअनुसार समाजिक विकास मन्त्री नवल किशोर साहले सप्तरी, अर्थमन्त्री विजय कुमार यादवले सिरहा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय र आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीमा विरुवा रोप्नेछन् ।

यसैगरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय र महिला वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंहले ले सर्लाही, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले रौतहट, अर्थराज्यमन्त्री उषाकुमारी यादवले बारा र उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले पर्सामा विरुवा रोप्ने कार्यक्रम रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस