कोल्टे फेर्न नसकेको राजविराज शहर: बजेट सिध्याउन ढलान सडकमाथि पुनःढलान !

राजविराज, १४ असार । भारतको गुलाबी शहर भनिने जयपुर शहरको नक्शामा २०१६ सालमा स्थापना भएको नगर हो राजविराज नगरपालिका । झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहिन रहेका कारण अस्तव्यस्त हुन पुगेको राजविराज नगरले जनप्रतिनिधि पाएको चार वर्ष वितिसक्दा समेत कोल्टे फेर्न नसकेको भन्दै सर्वत्र गुनासो भइरहेको बेला नगरपालिकाले बजेट सकाउन ढलान गरिसकिएको सडकमा पुनःधमाधम ढलान गर्न थालेको छ ।

नगर क्षेत्रका कतिपय सडक ग्राभेल समेत नहुँदा सर्वसाधारणहरु अहिले हिलाम्य र सुखायाममा धुलाम्यको मार खेप्दै हिँड्न बाध्य छन् । यद्यपी, त्यस्ता सडकहरु बनाउन सम्बन्धित निकायले आँखा चिम्लेका छन् । तर राजविराजमै एउटा ढलान गरिसकिएको सडकमा भने पुनःढलान कार्य भइरहेको छ ।

राजविराज नगरपालिका–५ लंका टोलमा कुल १५ लाख रुपैयाँको बजेटमा १७८ मिटरको ढलान सडकमा पुनः धमाधम ढलान कार्य भइरहेको छ । ‘हिलाम्य रहने गरेको सडकलाई पो ढलान गर्नुपर्ने हो, तर यो कार्यमा भने सरासर बजेट पचाउने नियती नै देखिएको छ’ स्थानीय मनोज राउतले भने–‘पहिलेदेखि नै सडक ढलान नै थियो र त्यहाँ पुनः ढलान गर्नुपर्ने के आवश्यकता थियो र?’

बजेट पचाउने नियतिले नै ढलान सडकमाथि ढलान कार्यलाई तिव्रता दिइएको उनले आरोप लगाए । ‘त्यस्तो नियति नभएको भए कम्तिमा पारदर्शी रुपमा त कार्य गर्नुपर्ने थियो नि’ उनले भने–‘तर निमार्णस्थलमा कुनै पनि होडिङ्ग बोर्ड नराखि हतार हतारमा अपारदर्शी रुपमा निर्माण कार्यलाई तिव्रता दिइएको छ ।’

उता, ठोस सडक बन्न नसक्दा अहिले नगरका धेरै जसो सडकहरु हिलाम्य रहदा सर्वसाधारणलाई समस्या भइरहेको छ तर एउटा ढलान सडकमाथि भने पुनः ढलान भइरहेको छ? भन्ने प्रश्नमा नगर प्रमुख शम्भु प्रसाद यादवले ढलान सडक जर्जर भइसकेकोले पुनःढलान गरिएको मधेशलाइभलाई प्रतिक्रिया दिए । ‘सो सडक ढलान भएको ६/७ वर्ष भइसकेको छ र त्यसको अवस्था पनि खराब छ’ उनले भने–‘अब फेरी त्यसलाई पुर्ननिर्माण गर्न ५० लाखबढी नै बजेट खर्च हुन्थ्यो तर अहिले कमै बजेटमा ढलान भइहाल्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस