रौतहटका दुई जना नगर प्रमुखलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

जनकपुरधाम । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।

आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।

Rinakumari-Sah
Author:



क्याटोगरी छान्‍नुहोस