बोदे बरसाईनको बजेट ७४ करोड, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

उमेश कुमार साह
बोदे बरसाईन, १६ असार । सप्तरीको बोदे बर्साईन नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ७४ करोडबढीको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज (बुधवार) सम्पन्न सातौँ नगरसभाबाट स्वास्थ्य शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिँदै ७४ करोड ५३ लाख ९१ हजार ९ सय १३ रूपैयाँ बजेट, नीति तथा कार्यक्रम पारित गरिएको हो ।

नगरपालिकाको अगामी बजेटका महत्वपूर्ण योजनाको रूपमा जनताको गुनासो सम्बोधनका लागि जनतासँग मेयर कार्यक्रम ल्याइएको छ । नगर प्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा आयोजित सभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादवले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसअनुसार चालू खर्चतर्फ १० करोड ७३ लाख ८४ हजार र पूँजिगत खर्चतर्फ ३७ करोड १२ लाख ५ हजारको बजेट छ । कृषि पशुपालनतर्फ कृषकहरूलाई प्रोत्साहन दिन नमूना व्यवसायिक बाख्रापालन गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिने, महिला स्वास्थ्य स्वयं सेविकाको मासिक भत्ता १ हजार ५ सय रहेकोमा ५ सय थप गरेर २ हजार पुर्याएको छ ।

यसैगरी कोभिड संकट खतरालाई मध्यनजर गर्दै पूर्वाधार औजार तथा सवारी साधन खरिद समेतका लागि १ करोड विनियोजन गरिएको छ भने १५ शय्याको शत्रुधन अस्पताल संचालनका लागि पनि २० लाख रुपैयाँ विनयोजन गरिएको छ । कोल्ड स्टोर निर्माण, एकीकृत नमूना वस्ती निर्माण, प्राविधिक क्याम्पस स्थापना, खडक नदि नियन्त्रण, सोवर्णा नदिमा झोलुङे पुल निर्माण लगायतका महत्वकांक्षी योजनाहरु समेटिएको छ ।

नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले नगरवासीको सल्लाह र सुझाव समेटेर योजना बनाएकोले नगरको सबै क्षेत्रमा समुचित विकास हुने प्रतिवद्धता जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस