हाम्रो पात्रो एपको डाउनलोड १ करोड नाघ्यो

जनकपुरधाम । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड १ करोड पूरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात् १ करोड डाउनलोड पूरा गरेको हो ।

यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्तामाझ १ करोड डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ । यो अवसरमा एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रो पात्रो टिमलाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ उनले भने ।

एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । यसअघि १० लाख र ५० लाख पूरा गर्नेमा पनि हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन (वि.सं.बाट इ.सं.मा र इस्वी संवत्‌बाट वि.सं.मा) फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्तेपात्रो बोकेर गएका थिए । तिथिमिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन । त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए ।

कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन । एप तयार भएको एक वर्षपछि अर्थात् सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आईओएस एप स्टोरमा राखिएको थियो । आईओएसमा हाम्रो पात्रोको डाउनलोड ५ लाखभन्दा बढी छ ।

गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड १ लाखभन्दा बढी डाउनलोड पुगेको थियो । सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले १० लाखको आँकडा पार गरेको थियो । अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड बनेको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने ७ प्रतिशत आईओएसमा छन् ।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफलजस्ता एक दर्जन फिचर समावेश छन् । विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि छ ।

हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ । बेटा भर्सनमै रहेको यो फिचर प्रयोग गर्नेहरुको संख्या १ लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमै हाम्रो पात्रोमा म्यासेञ्जरको फुल भर्सनसमेत आउनेछ । त्यस्तै, आईओएस प्रयोगकर्ताले समेत म्यासेञ्जर प्रयोग गर्न पाउने कम्पनीका संस्थापक उप्रेतीले बताए ।

हाम्रोपात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र ४ सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजीसहित एप सातवटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।

नेपालमा सस्ता मोबाइलका प्रयोगकर्ता धेरै हुने भएकाले उनीहरूलाई र्‍याम र स्टोरेज फुल हुने समस्या आइरहन्छ । यस्तोमा फोटो, भिडियो वा एपमध्ये कुनै न कुनै सामग्री डिलिट गर्नुपर्ने बाध्यता बन्न पुग्छ ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रो पात्रोले एउटै एपमा धेरै फिचरहरू समावेश गर्दै लगेको हो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा पनि हाम्रो पात्रो नै पहिलो नम्बरमा आउँछ ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रूपमा मेहनत गरिरहेका छन् । अहिले हाम्रो पात्रोको साइज डिभाइसअनुसार १२ देखि २३ एमबी मात्र छ ।

हाम्रो पात्रो इङ्कअन्तर्गत अहिले हाम्रो पात्रोसँगै हाम्रो किबोर्ड, हाम्रो डिक्सनरी, हाम्रो म्यागेजिनलगायतका एपहरू पनि छन् । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै डाउनलोडमा १० लाखको आँकडा पार गर्ने पहिलो नेपाली एप हो । यो एपको डाउनलोड अहिले ६० लाखभन्दा बढी छ । हाल हाम्रो पात्रोमा ३५ जनाको टिम कार्यरत छ ।

Author:



क्याटोगरी छान्‍नुहोस