प्रदेश सरकारले सुनेनः गाउँपालिकाले विकासीय बजेट काटेर थाले बलान नदी नियन्त्रण (भिडिओ)

राजविराज, १७ असार । वर्षौदेखि बलान नदीको बाढीले सर्वसाधारणलाई पिरोलिदै आएको समस्या समाधानका लागि निम्ति सप्तरीको बलान विहुल गाउँपालिकाले नदी नियन्त्रण कार्य थालेको छ ।

मनसुनसँगै नदीको बाढीले खेती योग्य जग्गा कटान गर्नुकासाथै बस्तीमा समेन बाढी पसेर सो भेगका सर्वसाधारणलाई वर्षेनी दुःख र त्रास हुँदै आएको कुरालाई मध्यनजर गाउँपालिकाले नदी नियन्त्रण कार्य थालेको हो । ‘मनसुन सुरु हुनासाथ नै यहाँका सर्वसाधारण त्रासमा रहने गर्छन्, बाढिले खेती योग्य जग्गा त कटान हुन्छ नै, कैयौं बस्ती डुबानमा परेर सयौं घरवारलाई घरबिहीन हुँदै आएका थिए’ गाउँपालिका अध्यक्ष दयानन्द गोइतले भने–‘नदी नियन्त्रण गर्न गाउँपालिकाको एरियाभर ठोस बाँध निर्माण गर्ने इच्छा हुँदाहुँदै पनि बजेट अभावले तत्काल अतिआवश्यक स्थानमा ठोस बाँध निर्माण कार्य सुरु गरेका छौं ।’

प्रदेश र संघ सरकारबाट पटक–पटक आश्वासन पाए पनि बाढीबाट जनधनको रक्षाका लागि पहल नुभएपछि अन्य शिर्षकका बजेटहरु काटेर नदी नियन्त्रण सुरु गरेको अध्यक्ष गोइतले बताए । ‘बाढीको पिरलो आवधिक हुन्छ तर यसका प्रभाव भने स्थायी सन्तापको रूपमा रहँदै आएको कुरा यहाँका सर्वसाधरणलाई हेर्नुस् आफैं थाहा हुन्छ, बाढीले जनतलाई तहसनहस बनाएको बेलामा प्रदेश र संघ सरकारले नानाथरी आश्वासन बाँड्दै हिड्छन् तर बाढी पूर्व नै दिर्घकालिन व्यवस्थापन गर्नुपर्नेतर्फ ध्यान नै हुँदैन्’ उनले भने–‘पछिल्लो पटक तत्कालिन प्रदेशका मन्त्री जितेन्द्र सोनल जी स्थलगत अवलोकन गरेरै जानुभयो र आश्वासन बाँडेकै हो, तर पहल नगरेकै कारणले नदी नियन्त्रणतर्फ बजेट नै छुट्याइएन् ।’

वर्षेनी बाँध फुटदै आएको वडा नम्वर २ दिघिया दक्षिणवरिया टोलस्थित नदीमा ठोस बाँध निर्माण थालिएको अध्यक्ष गोइतले बताए । ‘झण्डै १ करोड रुपैयाँको लागतमा ३०/३० मिटरको ८ वटा स्परसहित झण्डै ४ सय मिटर ठोस बाँध निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ’ उनले भने–‘सो बाँधले दिघिया दक्षिणवरिया टोल बाढीले सुरक्षित भए पनि अन्य ठाउँमा अझैं बाँध फुटने सम्भावना कायमै छ ।’

सोतर्फ अझै प्रदेश र संघ सरकारले ध्यान नपुर्याए बाध्य भएर आन्दोलन थाल्ने अध्यक्ष गोइतले चेतावनी समेत दिए । ‘अझैं प्रदेश र संघ सरकारले हाम्रा पिडा र त्रासलाई बुझेन भने हामी बाध्य भएर आन्दोलन नै सुरु गर्नेछौं’, उनले भने ।

 

भिडिओ:

 

Author:



क्याटोगरी छान्‍नुहोस