सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च, सतर्कता अपनाउन रातो बत्ती बालियो

राजविराज, १८ असार । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव खतराको संकेत पार गरेको छ । कोशी व्यारेज प्रशासनका अनुसार नदीमा पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । गए रातिदेखि बढ्दो नै रहेको पानीको वहाव शुक्रबार दिउँसो डेढ लाख नाघेको छ ।

दिउँसोको मापदनअनुसार १ लाख ५२ हजार ८५० प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । वहाव बढेसँगै ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । पानी वहाव अहिले बढ्दो नै रहेकाले आवश्यकता अनुसार थप ढोका खुला गरिने उनले बताए ।

हाल कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने तटबन्ध आसपास बसोवास गर्नेहरुलाई सतर्क भएर बस्न प्रशासनले आग्रह गरेको छ । ब्यारेजमा पानीको बहाव डेढ लाख नाघेसँगै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ । यसैगरी २ लाख काट्नासाथ पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस