सप्तकोशी नदीमा कटान सुरु, प्राविधिक सहितको टोली मर्मतमा

बिराटनगर । सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र मधुवन क्षेत्रमा पानीको बहाब कम भएसँगै कटान सुरु गरेको छ । पूर्व तटबन्धको राजाबास क्षेत्रमा केही बढी कटान भएकाले त्यस स्थानका स्पर र किनार क्षेत्रमा मर्मत सम्भार सुरु गरिएको छ ।

नेपाल कै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीमा सनिबार पानीको बहाव यो वर्षकै उच्च मापन गरिएकोमा आइतबार विहानैदेखि कम हुँदै गएको छ । सप्तकोशी नदीमा पानी कमभएसँगै कटान सुरु हुने भएकाले त्यसको पूर्वानुमानको आधारमा स्टोर गरेर राखेको बालुवाको बोरा, तारजाली र पानीको बेग रोक्ने प्रोकोपाईन समेत राखेर मर्मतको काम सुरु गरेको भारतीय जल संशाधन विभाग कोशी प्रोजेक्टले जनाएको छ ।

कोशीमा ठाउँठाउँमा जोखिम बढेको प्राविधिक र स्थानीयको गुनासोको आधारमा आइतबार विहानैदेखी सयौं मजदुर लगाएर मर्मतको कार्य स्वरुप बोरामा माटो हालेर जाली भर्ने काम सुरु गरेको छ । प्रकाशपुरको धरहरा टपन, राजाबास सहितको क्षेत्रमा दर्जन बढी स्परको मर्मत यस अघि नै गरिएकोमा बाढीको पानीले केही बीचबीच भागमा कटान गरेकाले मर्मतको काम धमाधम सुरु गरेको र हाल कुनै जोखिम नरहेको भारतीय जल संसाधन विभागको पेटिदारको रुपमा काम गर्ने के. के. मण्डलले बताउनुभयो ।

उहाँका अनुसार सम्भावित जोखिम क्षेत्रमा स्काभेटर, डुगाँ तारजादी, बालुवा माटो भरिएको हजारौ बोरा, सयौ ज्यालादारी मजदुर स्टेनवाई राखिएको छ । केही वर्षदेखी स्परहरुको पूननिर्माण र मर्मत सम्भार समेत गरेकाले खासै जोखिम नभएपनि पूर्व स्वत्रकर्ताका लागि बराहक्षेत्र नगरपालिकाको महेन्द्रनगर, प्रकाशपुर र मधुवन तथा कोशी गाउँपालिकाको पश्चिम कुशाहा र हरिपुर क्षेत्रमा निरन्तर रुपमा अनुगमन जारी राखेको प्राविधिक एसके मण्डलले जानकारी दिनुभयो ।

भारतीय लगानीमै सबै मर्मत सम्भारदेखि स्पर पुनः निर्माणसम्मको काम भइरहेको मण्डलको भनाइ छ । नेपाली पेटिदारका कर्मचारी गोपाल चौधरीका अनुासर कोशीको तटबन्ध सुरक्षामा भारतीय प्राविधिकको निरन्तर अनुगनम जारी रहेको छ । कोशीको प्रत्येक नोज तथा स्परहरुमा मर्मतको लागि स्काभेटर, ढुङ्गा तारजाली, बालुवा माटो भरिएको बोरा, सयौं ज्यालादारी मजदुर स्टेनवाई राखिएको चौधरीले बताउनुभयो ।

यता पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव घटेर एक लाख ६९ हजार ८२५ क्यूसेक प्रतिसेकेण्डमा झरेको छ । ब्यारेजका २५ ढोका खोलिएका छन् । कोशीको वहाव शनिबार दिउँसो भने वर्षकै उच्च दुई लाख ३१ हजार क्यूसेक प्रतिसेकेण्ड सम्म पुगेको थियो । नदीको बहावमा उचारचढाव जारी रहेकाले अनुगमन तथा निरीक्षणको काम भने जारी रहेको सुनसरी प्रशासनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस