चाँडै गुणस्तरीय रुपमा प्रतिष्ठान निर्माण हुन्छ: प्रधानमन्त्री ओली

राजविराज, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको सहयोग र साथले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण चाँडै हुने बताएका छन् । आज (मंगलबा) सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

‘देश विकासका गतिलाई तिव्रताकासाथ अघि बढाउने सन्दर्भमा सहयोग र साथको आवश्यकता पर्छ’ प्रधानमन्त्री ओलीले भने–‘सबैको सहयोग र साथले नै चाँडै गुणस्तरीय रुपमा प्रतिष्ठान निर्माण हुन्छ ।’

उनले प्रतिष्ठानको सिलान्यास अति महत्वपूर्ण र ऐतिहासिक कार्य रहेको बताए । ‘यहाँका वुद्धिजीवी, जनप्रतिनिधि र आम जनतालाई निर्माण कार्यमा सघाउन आग्रह छ’ उनले भने–‘हिमाल, पहाल र तराई गरी सबैतिरका जनताको विकासका लागि सरकार अघि बढेको छ, विकासको नाममा कुनै भ्रममा पर्नु हुँदैन ।’

भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएकोले सबै मिलेर देश विकासमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा क्षेत्रफलमा प्रतिष्ठान निर्माण हुन लागेको हो ।

जसमा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) कालागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा.रणजीत कुमार झाले जानकारी दिए । ‘डिपिआर गर्न करिब ५/६ महिना समय लाग्छ’, उनले भने ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, जनता समाजवादी पार्टी प्रदेश २ का सचिव दिनेश यादव र जिल्ला अध्यक्ष केदार प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस