सप्तरीमा अज्ञात रोगले एकको मृत्यु, आधा दर्जनभन्दा बढी विरामी

राजविराज, २५ असार । सप्तरीमा अज्ञात रोगबाट एक जना महिलाको मृत्यु भएको छ भने आधा दर्जनभन्दा बढी व्यक्ति विरामी भएका छन् ।

महादेवा गाउँपालिका–२ चकलीकी ४० वर्षीया सितादेवी रजक उपचारमा बिहिवार साँझ अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको राति मृत्यु भएको हो । ‘फूड पोइजन’ जस्तो लक्षण देखिएर महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीसँगै लक्षण देखिएर २२ वर्षीय संदिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक विरामी भएका छन् ।

यसैगरी ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा पनि विरामी परेको निमित्त प्रमुख यादवले बताए । ‘अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएको छ’ उनले भने–‘हामी सो गाउँमा स्थानीय स्वास्थ्यकर्मीहरुको टोली पनि पठाइसकेका छौं ।’

विरामीहरुमध्ये ३ जनाको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि धरान रिफर गरिएको अस्पतालका निमित्त प्रमुख डा.रणजीत कुमार झाले बताए । ‘चार जनालाई रिफर गरिएको छ, जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ’ उनले भने–‘यहाँ उपचारार्थ ३ जनाको अवस्था समान्य छ, उहाँहरु आजै डिस्चार्ज पनि पाउनुहुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस