भारतको केरलामा जिका भाइरस संक्रमण भेटियो

जनकपुरधाम । भारतको केरलामा जिका भाइरसको संक्रमण फेला परेको छ। भारतीय सञ्चार माध्यमका अनुसार केरलाको एक गर्भवतीमा जीका भाइरसको संक्रमण भेटिएको हो।

केरलामा जिका भाइरसको संक्रमण पहिलो पटक देखिएको हो। यसअघि भारतका केही सहरमा जिका भाइरसको संक्रमण देखिएको थियो। तर केरलामा भने पहिलो पटक देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

जिका भाइरसको संक्रमण देखिएकी २४ वर्षीय गर्भवतीमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको छ। उनलाई अस्पताल भर्ना गरेर उपचार भइरहेको बताइएको छ।

उनमा संक्रमण देखिएपछि थप १९ जनाको नमुना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३ जनामा जिकाको आशंका गरिएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। उनीहरुको नमुना पुनेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको छ।

जिका लामखुट्टेको टोकाइका कारण हुने गर्छ। एडिस जातको लामखुट्टेले टोकेको ३ देखि १४ दिनमा जिकाका लक्षणहरू देखिने गर्दछन्।

विशेष गरेर गर्भवती अवस्थामा जिका संक्रमित भए जन्मने बच्चामा टाउको सानो हुने (माइक्रोकेफाली)तथा स्नायु प्रणालीमा तत्काल वा दीर्घकालीन प्रभाव पर्ने अनुसन्धानहरूमा देखाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस