जनकपुर, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलवार संविधानको धारा ७६(५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ भने मंगलवारै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।