स्मार्टसिटी कुरामा मात्र, क्षणभरमै वीरगन्ज जलमग्न

वीरगन्ज । शनिबार बिहानको वर्षाका कारण पर्साको विभिन्न ठाउँ र सदरमुकाम वीरगन्ज जलमग्न भएको छ । बिहानबाट आएको पानीले जिल्लाको विभिन्न ठाउँसँगै सदरमुकाम वीरगन्ज पनि जलमग्न भएको हो । जलमग्न हुँदा बजार क्षेत्रका पसल खोल्न पनि सोच्नुपर्ने अवस्था भएको व्यापारीले बताए ।

धेरै पसलमा त पानी परिसकेको छ उनीहरूले भने । बजार क्षेत्रका सडकमा नै पानीको लेभल एक्कासी बढेर पसलमा पानी पसेपछि कसरी व्यवस्थापन गर्ने ? भन्ने चिन्ता बढेको आदर्शनगरका व्यापारी ओमप्रकाश खेतानले बताए । जलमग्न हुनुमा वीरगन्ज महानगरपालिकाको कमजोरी रहेको ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष समेत रहेका खेतानले तर्क गरे ।

महानगरपालिका क्षेत्रका सबै नाली ठीकसँग सफाइ नहुँदा एकछिन आएको पानीमा पनि नगरवासीले सास्ती खेप्न परेको ग्रिनसिटीका अध्यक्ष खेतानले बताए ।

सिटी सहर बनाउने कुरा गफ मात्र: नगरवासी

गएको स्थानीय निर्वाचनका समयमा अहिलेका नगरप्रमुख विजय कुमार सरावगीले मेरो कसम भनी प्रचारमा ल्याएको नारा र स्मार्टसिटी बनाउने कुरा गफमा मात्र सीमित भएको नगरवासीको आरोप छ ।

महानगरपालिकाले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा बजार क्षेत्रको सडक र नालीको उच्चस्तरीय निर्माण गरिरहेको छ । तथापि सहरमा डुवान भने झन् हुन थालेको भनी नगरवासी रुष्ट बनेका छन् । वीरगन्ज महानगरको नगरप्रमुख भएपछि सरावगीले सय दिनमा नै देखिने काम गरेको भनी त्यही एडीबीको सहयोगमा पहिलेदेखि नै बनिरहेका संरचनालाई आफूले गरेको विकासको काम भनी ठाउँ–ठाउँमा देखाउँदै हिडेको देखेका नगरवासी अहिले क्षणभरको बर्षात्मा नगर डुवान हुन थालेपछि नगरप्रमुख र महानगरको कामप्रति झन् आक्रोसित देखिएका छन् ।

नालीको पानी जाने खोलाको सतहमा आएको बाडीले बजार क्षेत्रको पानी उल्टै ओभर फ्लो भएर आउँदा छोटो समय बजार क्षेत्र डुबानमा पर्ने गरेको वीरगन्ज महानगरपालिकाले भने दाबी गरेको छ । पानी पर्न छोडेपछि स्वतः पानीको लेभल कम हुँदै जाने नगरप्रमुख सरावगीले पनि रेडिमेट जवाफ दिने गरेका छन् ।

शनिबारको पानीले यता बजार क्षेत्रको आदर्शनगर, राधेमाई, पानीटेंकी, रानीघाट, नगवा, जिल्ला प्रशासन कार्यालय क्षेत्र, छपकैया मात्र नभई जिल्लाको तिलावे, भेडाहा, नौरंगिया र ठोरीको ढेडु खोलालगायत नदीमा पानीको सतह उच्च हुन थालेपछि विभिन्न ठाउँ जलमग्न भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । तराईमा जमिन नै बगाए लाने क्रम केही कम भए पनि डुबान हुँदा सर्वसाधारण समस्यामा पर्ने गरेको उनको भनाइ छ । अहिले नै ठूलो विपत् भने आएको छैन । योभन्दा पानी थपिए मात्र थप सोच्न पर्ने अवस्था आउने उनको भनाइ छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस