कोरोनाको ‘हटस्पट’ बन्यो प्रदेश–१

विराटनगर । पछिल्लो समय देशभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामध्ये प्रदेश नम्बर–१ का आधा हुने गरेको छ । दैनिक हुने मृत्युमध्ये आधाजसो यही प्रदेशको हुने गरेको देखिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका र अरु प्रदेशलाई समेत पछि पार्दै प्रदेश–१ नयाँ संक्रमितको संख्याको आधारमा ‘हटस्पट’ बन्न पुगेको छ ।

कतिपय स्थानीय तहमा निषेधाज्ञा खुकुलो भई बजार खुलेका छन् । बाहिरी रुपमा कोरोनाको संक्रमण घटेको जस्तो देखिएर सबैतिर चहलपहल छ । तर, एक साताको तथ्यांक विश्लेषण गर्दा कोरोनाको संक्रमण र जोखिम झन् उकालो लागेको देखिन्छ ।

 

प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको एक सातायताको तथ्यांक हेर्दा प्रदेशमा कोरोना संक्रमणको दर बढेको देखिन्छ । यही साउन १२ देखि १८ सम्म प्रदेशभर सात हजार नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा दुई हजार ७५६ जना मात्र कोरोनामुक्त भएका छन् । यो सात दिनमा कोरोनाका कारण प्रदेश–१ मा ७३ जनाको मृत्यु भएको छ ।

तथ्यांकले झापा, मोरङ र सुनसरीमा संक्रमणको संख्यासँगै फैलावट दर पनि उच्च देखाएको छ । जिल्लागत रुपमा हेर्दा सबैभन्दा धेरै झापामा एक हजार ३२७, मोरङमा एक ०७२ र सुनसरीमा एक ०१९ जना संक्रमित थपिएका छन् ।

 

कोरोनाको पहिलो लहरपछि दोस्रो लहरको सुरुवातमा विराटनगर अधिक संक्रमणको चपेटामा परेको थियो । तर, केही सातायता विराटनगरमा अनुपातिक रुपमा संक्रमित थपिने क्रम घटेको छ ।

प्रदेशका मुख्य ६ वटा सहरको तथ्यांक विश्लेषण गर्दा धरान संक्रमणको हटस्पट बनेको छ । साताभर धरानमा सबैभन्दा धेरै ६२१ नयाँ संक्रमित थपिएका छन् । त्यसपछि विराटनगरमा ३५९, दमकमा ३५७, इटहरीमा २९६, बिर्तामोडमा २८६ र भद्रपुरमा १५४ नयाँ संक्रमित थपिएका छन् । संख्यात्मक हिसाबले झापामा अधिक संक्रमण देखिए पनि सुनसरीका प्रमुख सहर धरान र इटहरीमा भने संक्रमित थपिने क्रम धेरै छ ।

कोसी अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादव संक्रमित थपिने क्रममा कमी नआएको बरु बढ्न थालेको बताउँछन् । “धेरै स्थानीय तह पूर्ण निषेधाज्ञामा हुँदा मानिसहरुको आउजाउ र चहल पहल कम थियो । तर, खुकुलो भएसँगै हामीले पूर्वानुमान गरेअनुसार नै संक्रमण बढ्दै गएको छ । अझै बढ्ने भएकोले जनस्वास्थ्यसम्बन्धी मापदण्ड कडाइसाथ लागु गर्न जरुरी छ,” उनले भने ।

उनले बजार, कार्यालय, सार्वजनिक सवारी र अरु सार्वजनिक सरोकार तथा जीवनसँग सम्बन्धित क्षेत्र पूर्ण रुपमा खोलिएकोले पनि संक्रमण फैलने मौका र अहिले खासगरी डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमण अधिक देखिएको बताए ।

अस्पताल भरिभराउ
पछिल्लोपटकको परीक्षणमा लक्ष्यणसहितका बिरामी अधिक देखिन थालेका छन् । अहिले पनि विराटनगरसहित कोरोना उपचार हुने प्रदेशभरका अस्पतालमा बिरामीको चाप छ । धेरै अस्पतालका बेड भरिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सरकारले तोकेको मापदण्ड पुगेका सरकारी तथा निजी गरी प्रदेशभर अस्पताल र आइसोलेसन केन्द्र गरी ३१ स्थानमा संक्रमितको उपचार प्रबन्ध गरिएको छ । तीमध्ये जनरल बेडमा १७६, आईसीयूमा १२९, भेन्टिलेटरमा ५४, आइसोलेसन बेडमा ५०, एचडीयूमा २६८ जना उपचाररत छन् ।

विराटनगर महानगरपालिकाको तथ्यांकानुसार विराट मेडिकल कलेजको २५ आईसीयू र ६ भेन्टिलेटर भरिएका छन् । ४५ अक्सिजन बेडमध्ये ११ वटा मात्र खाली छन् ।

यसैगरी, कोसी कोभिड अस्पतालमा २१ आईसीयू र १५ भेन्टिलेटर बेड भरिएका छन् । ६२ अक्सिजन बेडमध्ये १३ वटा खाली छन् ।

न्यूरो अस्पताल कोभिड युनिटमा २५ आईसीयू बेडमध्ये १८ वटा खाली छन् । आठ भेन्टिलेटरमध्ये पाँच खाली छन् ।

कोसी अस्पताल कोभिड युनिटका सबै पाँच आईसीयू र पाँच भेन्टिलेटर बेड भरिएका छन् । ५७ अक्सिजन बेडमध्ये २४ वटा खाली छन् । १० आइसोलेसन बेडमध्ये दुईवटा खाली छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस