साउनपछि काेराेना संक्रमण घट्ने स्वास्थ्य मन्त्रालयकाे प्रक्षेपण

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको हो ।

बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी पाँच महिनाको कोरोना प्रक्षेपणको प्रतिवेदन पेस गर्दै भदौदेखि कोरोना संक्रमित घट्दै जाने बताए ।

उनका अनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ कोरोना संक्रमित थपिनेछन् । तीमध्ये ३८ हजार ७ सय ७१ लाई उपचार सेवा आवश्यक पर्ने लोहनीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, मंसिरसम्म ९ हजार ६ सय ९३ जना गम्भीर बिरामी पर्ने र उनीहरूलाई सघन उपचार आवश्यक पर्ने पनि प्रतिवेदनमा लोहनीले उल्लेख गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस