प्रदेश २ मा यादवको पकड बलियो

जनकपुरधाम । दल टुक्रयाउने अध्यादेश जारीसँगै जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरको समूह प्रदेश २ मा उपेन्द्र यादवले नेतृत्व गरेको जसपाभन्दा कमजोर देखिएको छ ।

गठबन्धन र एउटै दल बनेर सरकारको बागडोर सम्हालिसकेको जसपा एकीकृत हुँदा ५५ सांसद थिए । दल टुक्रिएसँगै यादव नेतृत्वको जसपा झन् शक्तिशाली बनेको हो । चुनावमा २९ प्रदेश सांसद जितेको यादव पक्षसँग अहिले ३६ जना सांसद छन् । ठाकुर नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का ६ जना प्रदेश सांसद यादवतिर लागेका छन् ।

प्रदेशका दुई मन्त्री नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर नेतृत्वको जसपा ओली सरकारमा सामेल भएकै बेला कित्ताकाट गर्दै यादवतिर लागेका थिए । पछिल्लो समय ठाकुर र राजेन्द्र महतोका समेत निकट मानिएका प्रदेश सांसद मनीष सुमन र सुरेशकुमार मण्डल पनि यादवकै दलमा मिसिएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव जितेकी प्रदेश सांसद रानी शर्मा तिवारी र डा. रिना यादवले पनि खेमा फेर्दै यादवको दलतिर लागेका छन् ।

प्रदेश २ मा यादवपक्षीय जसपा, कांग्रेस र माओवादी (केन्द्र) को संयुक्त सरकार छ । प्रदेशसभामा नेकपा एमालेका २१ जना सांसद छन् । अहिले दल छिन्नभिन्न भएपछि माधव नेपाल पक्षमा १३ र संस्थापनमा ८ जना छन् । स्थानीय तहको निर्वाचनमा यादवको दलभन्दा बढी सिट ठाकुरको दलले जितेको थियो ।

यादवको दलले २५ र ठाकुरको दलले ३० स्थानीय तहमा प्रमुख जितेको थियो । यी दुवै दल एकीकृत हुँदै फेरि छिन्नभिन्न भएपछि यादवको दलतिर स्थानीय तहका प्रमुखको संख्या बढी देखिएको छ । जसपाको प्रदेश समितिका महासचिव शम्भु झाका अनुसार स्थानीय तहमा को–कता भनेर आधिकारिक तथ्यांक संकलनकै क्रममा रहेकाले यकिन भइसकेको छैन । कान्तिपुर बाट

Author:



क्याटोगरी छान्‍नुहोस