चुनाव नजिकिँदै गर्दा मधेशमा के गर्दै छन् सिके राउत ?

जनकपुरधाम । विखण्डको बाटो रोज्दा सीके राउत कयौँ पटक जेल परे । देशद्रोहको मुद्दा खेपे । उनै ‘देशद्रोही’ मूलधारको राजनीतिमा आएको २९ महिना बित्दै छ।

६ जेठ २०७६ मा जनमत पार्टी दर्ता गराएर पार्टी अध्यक्ष भएका राउत कहाँ छन् र के गर्दै छन् ? मधेसलाई अलग देश बनाउने उद्देश्यबाट राजनीति सुरु गरेका राउत अहिले काठमाडौँले गर्ने चुनावमा सहभागी हुन चुनावी रणनीति बनाउँदै छन् भन्ने थाहा पाउँदा धेरैलाई आश्चर्य नै लाग्ला ।

अध्यक्ष राउत पछिल्लो समय मधेशका जिल्लाहरुमा पार्टीको संगठ निर्माण गरिहेका छन् । उनी प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छन् । विशेषगरी उनी आगामी चुनावी रणनीति बनाइरहेका छन् । मधेशवादी दलहरुको कमजोरीलाई विश्लेषण गरिरहेका छन् । र दलका गतिविधीलाई केलाईरहेका छन् ।

झापादेखि बर्दियासम्मका १८ जिल्लामा उनले पार्टीको वडा तथा पालिकास्तरको अधिवेश गरी धमाधम नेतृत्व छनोट गरिरहेका छन् । ‘आगामी चुनावका लागि हामी भुइँ तहसम्म पार्टीको संगठन निर्माणमा खटिएका छौँ,’जनमत पार्टीकी केन्द्रीय सचिव अनिता देवी साहले भनिन्,‘तराईका १८ जिल्लामा हाम्रो पाटीको संगठन निर्माण भइसकेको छ ।’

देशमा अझै पनि जनताको राज्य नआएको भन्दै भोटका लागि मात्रै जनतालाई प्रयोग गरेको तर विकास नदिएको बताइन् । ‘जनतालाई अहिलेसम्म भोटका लागि मात्रै प्रयोग गरियो । उनीहरुको गाउँमा विकास अझै पुगेको छैन’ साहले भनिन् । स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीनै तहमा आगामी चुनावमा जनमत पार्टी आफ्ना उम्मेदवार उठाउने तयारीमा छ । पहिलो महाधिवेशन गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरु संगठन निर्माणका जुटिरहेका छन् ।

यसवाहेक स्थानीय तहमा भइरहेको अनियमितता, भ्रष्ट्राचार विरुद्ध खबरदारी गर्दै यस पार्टीका कार्यकर्ताहरु जनताका दैलोमा पुगेको बताउँछन् । साथै पार्टीलाई चिनाइरहेको पनि उनीहरुको भनाइ छ ।

जनमत पार्टीका कार्यकर्ताहरुले हालै रौतहटको जिल्ला अस्पताल गौरलाई सुधार गर्न दवाव दिन स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएका थिए ।

सिरहा, धनुषा, रौतहट र रुपान्देहीमा संगठन विस्तारको अभियान तिब्र गतिमा बढाएको उनीहरु बताउँछन् । अरु जिल्लामा पनि जनतालाई पार्टीमा गोलबन्ध गर्ने क्रम जारी रहेको नेताहरु बताउँछन् । जनमत पार्टीका वरिष्ठ नेतृत्व मण्डल कमिटीका सदस्य विनय बर्मा भन्छन्,‘आउने चुनावका लागि भोट र उमेदवार खोज्नमा हामी व्यस्त छौँ ।’मधेश आन्दोलनसँग जनताकाको जुन अपेक्षा थियो त्यो पूरा नभएको उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस