गोबरगाढावासीलाई छाक टार्न समस्या

राजविराज, ४ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका सर्वसाधारणहरुले चार दिनदेखि घर डुवान भएर छाक टार्न समस्या भइरहदा पनि राज्यले सोधखोज नगरेको गुनासो गरेका छन् ।

केही दिनअघि सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको गोबरगाढामा बाढी पसेपछि बस्ती जलमग्न भएको थियो । अझैं घर आँगनमा २/३ फिटसम्म बाढी रहेकाले चार दिनदेखि खाना पकाउन समस्या भइरहेको स्थानीय हरि यादवले बताए । ‘चार दिनदेखि यहाँका सर्वसाधारण चिउरा–भूजा खाएर जीविको चलाउन बाध्य हुँदा पनि राज्यले सोधखोज गरेको छैन्’ उनले भने–‘अहिले बस्तीका ३२ घर परिवारलाई छाक टार्न समस्या हुँदै आएको छ तर पनि स्थानीय सरकार वा सिडिओ सा’बले सोधखोज गरेका छैन् ।’

उनका अनुसार बाढीले अहिलेसम्म सत्रुघन यादव, सिताराम यादव र रामसागर यादवको घर कटान भइसकेको छ भने अझैं कटान जारी छ । आफुहरुलाई बासको लागि पनि कठिनाइ भइरहेको पीडितहरुको दुखेसो छ । ‘स्थानीय तहमा सरकार आएपछि आफुहरुका समस्यामा गम्भीरताकासाथ काम गर्नुहुन्छ भने लागेको थियो तर गाँस–बासको समस्या भइरहदा समेत सरकारले वास्ता गरेको छैन्’ स्थानीय सत्रुघन यादवले भने–‘अब कस्तो बेलामा उहाँहरुले वास्ता गर्नुहुन्छ ?’

सिताराम यादवले अब त खाद्यान्न पनि सकिने अवस्थामा पुगेको बताए । ‘उपलब्ध चिउरा भूजाले अब एक÷दुई छाक टार्न सकिन्छ, त्यसपछि त्यो पनि सकिन्छ’ उनले भने–‘त्यसपछि के खाने र कसरी परिवार चलाउने पिरलो छ, बजारसम्म पुग्न पनि डुंगा चढेर २/३ घण्टा लाग्छ, पुगे पनि चिउरा भूजा किन्न पैसा छैन् ।’

वडाध्यक्ष विन्देश्वर यादवले आफुले चाहेर पनि यहाँका समस्या समाधान गर्न कठिनाइ भइरहेको बताए । ‘समस्याको विषयमा पटक पटक नगरप्रमुखलाई जानकारी गराए तर अझैं खाद्यान्नको व्यवस्थापन गराउनेतर्फ उहाँको ध्यान पुगेको छैन्’ उनले भने–‘यद्यपी, आफु प्रयासरत छु ।’

नगरप्रमुख शैलेश कुमार साहले पुरानो बस्तीमा कटान लागेको र केही घर डुवानमा परेको विषयमा जानकारी रहे पनि खाद्यान्नको आवश्यकताबारे जानकारी नभएको बताए । ‘यद्यपी वडाध्यक्षसँग तत्कालै जानकारी माग गरिने र आवश्यकताअनुसार खाद्यान्न उपलब्ध गरिनेछ’, उनले भने ।

उता, प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यले खाद्यान्नको लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए । ‘खाद्यान्न खासमा स्थानीय तहले नै वितरण गर्ने हो वा उहाँहरुकै सिफारिसमा हामीले वितरण गर्ने हो’ उनले भने–‘यद्यपी हामी स्थानीय तहसँग समन्वय गर्ने कार्य गरिरहेका छौं र आवश्यकताअनुसार पुर्याउँछौं पनि ।’

३२ परिवारको घर जलमग्न

वडाध्यक्ष यादवकाअनुसार गोबरगाढाका ३२ परिवारको घर चार दिनदेखि जलमग्न छ । प्रमोद यादव, रामस्वरुप यादव, हरिबोध यादव, रामानन्द यादव, कुशेश्वर यादव, भुवनेश्वर यादव, संतोश यादव, महेन्द्र यादव, सुदिप यादव, प्रेमसागर यादव, दिलिप रजक, हरि यादव, ध्रुव यादव, संजिव मुखिया लगायत ३२ जनाको घर जलमग्न छ ।

यसैगरी मुनचुन मुखिया, पाँचु मुखिया, भागवत मुखिया, कुशेश्वर यादव, सातैन यादव, रामलखन यादव, लालु यादव, दुखि यादव, कामेश्वर यादव, डोमर यादव, धनराज यादव, रामकिशुन यादव, रामचरण यादव, सत्यनारायण यादव, रामदेव यादव, प्रभु यादव, महेश्वर यादव, दुनिलाल यादव र दगदिश यादव को घर जलमग्न रहेको वडाध्यक्ष यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस