सिकाइ उपलब्धि ५० प्रतिशत पनि पुगेन : सरकारी अध्ययन

जनकपुरधाम । कक्षा १० का अधिकांश विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रले तय गरेको पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको एक अध्ययनले देखाएको छ। शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तीन वर्ष लगाएर गरेको विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको नतिजा सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अंग्रेजी, गणित र विज्ञानमा एक दशकको अवधिमा ५० प्रतिशत पनि सिकाइ उपलब्धि पुग्न नसक्नु विद्यालय शिक्षाको अवस्था चिन्ताजनक रहेको औंल्याए। सन् २०१८ देखि सुरु गरिएको अध्ययनमा पहिलो पटक कक्षा १० का देशभरका ४२ हजार विद्यार्थी समेटिएका थिए। यसैगरी सरकारी र निजी गरी कुल एक हजार ६ सय विद्यालय र एक हजार ६ सय विद्यालय प्रधानाध्यापक अनुसन्धानमा समेटिएका थिए। त्यस्तै तीन हजार ६ सय शिक्षकलाई अनुसन्धानमा समेटिएको महानिर्देशक सापकोटाले जनाए।

यसअघि सन् २०११ मा सानो स्केलमा कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धिबारे सामाजिक, गणित, विज्ञान र नेपाली विषयको अध्ययन गर्दा औसतमा ४०.९६ प्रतिशत थियो। विद्यार्थीलाई कक्षा १० को भन्दा माथिको क्षमता देखिएका विद्यार्थी, कक्षा १० को उच्च उपलब्धि भएका विद्यार्थी, कक्षा १० को औसत उपलब्धि भएका विद्यार्थी, कक्षा १० को न्यूनतम क्षमता विकास भई नसक्दा बोर्डर लाइनमा पर्ने विद्यार्थी, कक्षा १० को अपेक्षित क्षमताभन्दा कम क्षमता भएका विद्यार्थी र कक्षा १० भन्दा न्यूनतम क्षमता भएका विद्यार्थी गरी ६ तहमा विभाजन गरिएको थियो। गणित, विज्ञान, नेपाली र अंग्रेजी गरी चार विषयमा विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरिएको थियो।

औसतमा कक्षा १० का विद्यार्थीको गणितमा सिकाइ उपलब्धि ४० प्रतिशत, विज्ञानमा ३१ प्रतिशत र अंग्रेजीमा ३० र नेपालीमा ४४ प्रतिशत रहेको छ। ‘नतिजाले एक दशकमा पनि विद्यालय स्तरका कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार नभएको देखायो। सिकाइ उपलब्धि सन्तोषजनक छैन,’ महानिर्देशक सापकोटाले भने, ‘नतिजाअनुसार गणितमा ३१ प्रतिशत, विज्ञानमा १८ प्रतिशत, नेपालीमा ३९ प्रतिशत र अंग्रेजीमा ३० प्रतिशत विद्यार्थीले मात्र कक्षा १० को अपेक्षित क्षमता प्रदर्शन गर्न सकेका छन्।’ उनले थपे, ‘१८ देखि २४ प्रतिशत विद्यार्थी कक्षा १० को न्यूनतम क्षमताको बोर्डर लाइनमा रहेका छन्। चार वटै विषयमा ५० प्रतिशत सिकाइ उपलब्धि पनि विद्यार्थीले हासिल गर्न नसक्नु हाम्रो शिक्षा क्षेत्रमा देखिएको कमजोरी हो।’

प्रदेशगत भिन्नता

प्रदेशअनुसार औसत सिकाइ उपलब्धिमा निकै भिन्नता छ। नतिजा हेर्दा अंग्रेजी, गणित, विज्ञान र विषयमा वाग्मती प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि उच्च छ। न्यून सिकाइ उपलब्धि कर्णाली प्रदेशको रहेको छ। नेपालीमा गण्डकीको सबैभन्दा उच्च सिकाइ उपलब्धि छ भने न्यून सिकाइ उपलब्धि प्रदेश २ को देखिएको छ।

पाठ्यक्रमअनुसार सिकाइ भएन

‘केवल सानो संख्याका विद्यार्थी मात्र सिकाइको अब्बल तहमा रहेका छन्,’ महानिर्देशक सापकोटाले औल्याए, ‘कक्षा १० को भन्दा माथिको क्षमता देखाएका विद्यार्थीको उपलब्धि गणितमा १५ प्रतिशत, विज्ञानमा ७ प्रतिशत, नेपालीमा १८ र अंग्रेजीमा पनि १८ प्रतिशत मात्र छ।’ उनले थपे, ‘अधिकांश विद्यार्थीले पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको देखिनुले लिखित पाठ्यक्रम र विद्यार्थीले हासिल गरेको ज्ञान, सिप र दक्षतामा ठूलो अन्तर रहेको प्रस्ट भएको छ। यसले सिकाइमा विद्यार्थीको उपलब्धि निराशाजनक नै रहेको देखिन्छ।’

विद्यालयका प्रकारगत उपलब्धि

सामुदायिक र संस्थागत विद्यालयबीचको असमानता उच्च देखिएको छ। असमानता सिकाइ उच्च हुनुले भविष्यमा समाज दुई तहमा विभाजन गर्ने जोखिम बढेको महानिर्देशक सापकोटाले बताए। गणितमा ५१ अंक, विज्ञानमा ४९ अंक, नेपालीमा २१ अंक र अंग्रेजीमा ६८ अंकको अन्तर उच्च रहेको उनको ठहर छ। ‘सामुदायिक विद्यालयलाई अपग्रेड गरी सिकाइमा रहेको अन्तरलाई लगानी, प्रक्रियाा वा नीतिगत सुधार गरी रणनीतिक कार्यक्रम बनाएर अघि बढ्नु पर्ने आवश्यक छ,’ उनले सुझाए। त्यस्तै कक्षा १० मा अध्ययन गर्ने १४ र १५ वर्ष पूरा भएका विद्याथीले औसतभन्दा धेरै उच्च सिकाइ उपलब्धि हासिल गरेको नतिजाले देखाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस