बाढी प्रभावित दलित परिवारलाई गाउँपालिकाको राहत

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ को.बर्साइनका बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । अबिरल बर्षासँगै गत मंगलबार जिता नदीको पश्चिमी तटबन्ध भत्किएर सो वडाका दलित बस्ती (राम टोल, खंग टोल र सरदार टोल) मा बाढी पसेर १३३ घर डुबानमा परेको थियो ।

बाढी प्रभावितहरुलाई गाउँपालिकाबाठ राहत वितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए । उनका अनुसार प्रति परिवार २५ किलो चामल, ५ किलो भुजा(मुरही), एक किलो सोयाबिन, एक किलो नुन, चार वटा साबुन र एक्वा ट्याब वितरण गरिएको छ ।

एक्वाट्याब भने सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले उपलब्ध गराएको जनाएको छ । बाढी प्रभावितहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको थियो ।

राहत वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, स्वास्थ्य शाखा संयोजक शैलेश कुमार मिश्र, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका विष्णुकान्त देव, दुर्गानन्द शर्मासहितको सहभागिता रहेको थियो ।

उता, गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले भत्किएको बाँध निर्माणकोलागि कार्य अघि बढाइएको बताए । ‘बस्तीहरुमा अहिले बाढी सुकेको छ भने जनजीवन सामान्य बन्दै गएको छ’ उनले भने–‘बाँध निर्माण पनि अघि बढाएका छौं, बाँध निर्माणमा आवश्यक बोरा र जाली प्रहरी चौकी को. बर्साइनमा राखिएको छ भने एक÷दुई दिनभित्रै निर्माण सुरु गरिनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस