जसपाले भदौ ९ गतेबाट प्रादेशिक भेला गर्ने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रादेशिक कार्यकता भेला सञ्चालन गर्ने भएको छ । भदौ १ र २ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम प्रादेशिक भेला हुने भएको हो । पार्टीले भदौ ९ गतेबाट भेला सुरु गर्नेछ ।

जसपा नेता डम्बर खतिवडाकाअनुसार भेला भदौ १७ गतेसम्म ७ प्रदेशका ८ जिल्लाहरूमा हुनेछ । जसअनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र वीरगञ्जमा भेला गर्ने जसपाको तयारी छ । यस्तै, वाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको भैरहवामा कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना हुँदैछ ।

खतिवडाका अनुसार भदौ ९ गते पहिलो कार्यक्रम विराटनगर र काठमाडौंबाट एकसाथ सुरु हुँनेछ । “पार्टीको आधिकारीकता विवाद समाधान भएपछि पहिलोपटक प्रादेशिक भेला गर्न लागिएको हो,” खतिवडाले भने, “केन्द्रीय समितिको बैठकले गरेका निर्णय कार्यकतालाई सुनाउँछौँ, प्रशिक्षण दिन्छौँ, उनीहरूको कुरा सुन्छौँ ।”

कार्यक्रम अन्तर्गत विराटनगर, जनकपुर र वीरगञ्जमा हुने कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्रराय यादव, सुशिला श्रेष्ठ, अमृता अग्रहरी लगायतले सम्बोधन गर्नेछन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव लगायतले काठमाडौं, पोखरा र धनगढीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सुर्खेतको कार्यक्रमका लागि नेताहरू नवराज सुवेदी, महेन्द्रराय यादव लगायत जिल्ला जानेछन् ।

यसअघि जसपाकै महन्थ ठाकुर समूहले पनि प्रादेशिक कार्यकता भेला सम्पन्न गरेको थियो । निर्वाचन आयोगमा लोकतान्त्रित समाजवादी पार्टी दर्ताका लागि निवेदन दिनुपूर्व ठाकुर समूहले १७ जिल्लामा भेला सम्पन्न गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस