जसपा एक हप्ताभित्र सरकारमा सहभागी हुन्छ : बाबुराम

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । तराई–मधेस र पहाडको प्रतिनिधित्व हुने गरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले बताए ।

जसपाले सातवटै प्रदेशमा आह्वान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत वाग्मती प्रदेशलाई समेटेर बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपा नयाँ विचार र एजेन्डासहितको वैकल्पिक शक्तिको उदयमान भएको दाबी गरे ।

महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गर्दै डा. भट्टराईले ठाकुर–महतोलाई ‘खानेबेलामा अभागीलाई रिस उठे’जस्तै भएको भन्दै व्यंग्य गरे ।

जसपाबाहेक कुनै पनि राजनीतिक शक्तिले मुलुकलाई सही निकास दिन नसक्ने दाबी गर्दै उनले आगामी निर्वाचनबाट जनताको उत्साहजनक मत पाएर जसपा बलियो शक्तिको रूपमा उभिने विश्वास व्यक्त गरे ।

पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई एउटा नयाँ उचाइमा पुर्‍याउने उनको दाबी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस