राजविराज, १० भदौ । अमेरिकाको भर्जिनियामा सम्पन्न नेपाली तराई अमेरिका संघ (एन्टा)को छेठौँ महाधिवेशनबाट सप्तरीका मोहन यादव अध्यक्षमा चयन भएका छन् ।
राजविराज नगरपालिका वडा नम्वर १३ निवासी सम्मेलनबाट सर्वसम्मत चयन भएका हुन् । कार्यकारिणी समितिको बरिष्ठ उपाध्यक्ष कुशेश्वर मण्डल, अन्तर्राष्ट्रिय उपाध्यक्ष विजय कुमार चौधरी, राष्ट्रिय उपाध्यक्ष कन्चन चौधरी, महासचिव राजवीर यादव, सह–सचिव डा.रबिन्द्र मण्डल, कोषाध्यक्ष डा. विकास सिंह, सह–कोषाध्यक्ष ब्रजेश कुमार ठाकुर, प्रवक्ता खुशनन्दन ठाकुर चयन भएका छन् । यसैगरी सदस्यहरूमा आशिष झा, अवधेश कुमार गुप्ता, बन्दना देव, रूपेश कुमार यादव र शत्रुधन साह रहेका छन् ।
एन्टाका अध्यक्ष युवा बैज्ञानिक प्रा.डा.इन्द्रदेव साहको अध्यक्षता तथा अमेरिकी नेपाली समाजका पुरानो नेपाली वासिन्दा स्व.डा.सुखदेव साहकी धर्मपत्नी विजया साहको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद प्रा.डा.चन्द्रमोहन यादव, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च विभागीय प्रमुख श्रीप्रसाद साह, मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, राजनैतिक विशलेषक डा.सी.के.लाल, विश्व किर्तिमानी एवं गिनिज बूक अफ वोर्ल्ड रेकर्ड होल्डर डा. नबल पंजियार समेतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रवक्ता मोहन यादवले गरेका थिए ।
उक्त सम्मेलनमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउत, भौतिक विकास तथा पूर्वाधारमन्त्री राम सरोज यादव, आन्तरिक मामला तथा कानून राज्यमन्त्री रूबी कर्ण, मैथिली विकास कोषका अध्यक्ष जीबनाथ चौधरी लगायत दुई दर्जन संघ–संस्थाका प्रतिनिधीहरूले कार्यक्रमको सफलताको लागि लिखित रूपमा शुभकामना सन्देश पठाएका थिए ।
सम्मेलनमा अमेरिकाको विभिन्न राज्य तथा नेपाल गरी दुवै देशका झन्डै दुई सय जना र जूमको माध्यमबाट २५ जना गरि करिब दुई सय ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कला र संस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरिएको थियो । एन्टा निर्वाचन आयोगका अध्यक्ष डा. रामबाबु यादव, सदस्यद्वय डा. रामकृष्ण साह र सुजित झाले सर्वसम्मत रूपमा निर्णय गरी नयाँ कार्यसमितिको नाम घोषणा गरेका छन् ।
एन्टाका नव अध्यक्ष यादवले आफुले संस्थाको उद्देश्यप्राप्तिकालागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफुसहित कार्यसमितिलाई आ–आफ्नो तवरबाट सहयोग गर्न उनले सबै पक्षसँग आग्रह गरेका छन् ।