सप्तरीमा कर्मचारी र जनप्रतिनिधि मिलेर १ करोडबढी अनियमितता गरेको खुलासा

राजविराज । सप्तरीमा पक्राउ परेका वडा सचिवले जनप्रतिनिधिसँग मिलोमतो गरी सामाजिक सुरक्षा भत्ता शिर्षकको १ करोडभन्दा बढी रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुरलाई सरकारी कागजात, छाप र नागरिकता किर्ते मुद्दामा पक्राउ गरेपछि सो तथ्य बाहिरिएको हो ।

उच्च अदालत जनकपुर, राजविराज इजलासमा स्थानीयले चार जनामाथि मुद्दा दायर गरेका थिए । अदालतबाट भएको आदेशअनुसार प्रहरीले वडा सचिव ठाकुरलाई गत साउन २४ गते पक्राउ गरेको छ । ठाकुरमाथि म्याद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । ‘वडा सचिवलाई हिरासतमा राखि अनुसन्धान भइरहेको छ’ उनले भने–‘अन्य फरार तीन जनाको खोजी कार्य हुँदैछ ।’

आर्थिक वर्ष २०७४/०७५ देखि नै सो वडाको ७८ जनाले एक चौमासिकमा ९ लाख ३६ हजार बुझेका छन् । यसरी पछिल्लो चार आर्थिक वर्षको १२ चौमासिकमा १ करोड १२ लाख ३२ हजार निकासा भएको देखिन्छ ।

ठाकुरसहितकाले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वापत रकम निकासा गरेका छन् भने एउटै व्यक्तिको फरक–फरक नागरिकता बनाएर पनि भत्ता रकम निकासा गरिएको छ । केहीको नागरिकतामा पनि उमेर बढाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको छ । श्रोतका अनुसार वडा सचिवसँगै अनियमितताका आरोपीहरु खरिदार जगदिश यादव, वडा अध्यक्ष रहमान मियाँ र वडा सदस्य बेचन यादव फरार छन् ।

उता, नगर प्रमुख शिवनारायण साहले वडाध्यक्ष, सदस्य र खरिदार आफ्नो पनि सम्पर्क नरहेको प्रतिक्रिया दिए । ‘दुई दिनअघिसम्म उहाँहरु सम्पर्कमै हुनुहुन्थ्यो, त्यसयता उहाँहरुको मोवाइलमा पनि सम्पर्क भइरहेको छैन्’, उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस