जसपा छाडेर नयाँ पार्टी खोल्नेहरु आफै समाप्त हुन्छः उपेन्द्र

जनकपुरधाम, ११ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर नयाँ पार्टी खोल्नेहरु आफै समाप्त भएर जाने दावी गरेका छन् ।

जनता समाजवादी पार्टीले शुक्रबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आयोजित सुज अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेशी जनताको मुक्तिकालागि सशक्त रुपमा आवाज उठाउन मधेशी जन अधिकार फोरम नेपाल नामक संस्था तथा पछि पार्टी गठन गरेको चर्चा गर्दै अध्यक्ष यादवले भने ‘पार्टी नीति सिद्धान्त एवम् उद्देश्य विहिन भएकाहरुले पार्टी विभाजन गरी मधेशी जन अधिकार फोरम लोकतान्त्रिक, मधेशी जन अधिकार फोरम गणतान्त्रिक, मधेशी जन अधिकार फोरम मधेश लगायतका पार्टीहरु खुले तर ती सबै उद्देश्य विहीन पार्टीहरु आफै समाप्त भएर गए ।’

जनता समाजवादी पार्टी छाडेर जानेहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको चर्चा गर्दै उक्त पार्टीको हालत पनि यस नयाँ पार्टी खोल्नेहरु जस्तै हुने उनले दावी गरे । केही व्यक्तिले पार्टी छोड्दैमा विभाजन भएको भन्न नमिल्ने बताउँदै अध्यक्ष यादवले भने ‘लोभी पापीहरुको झुण्ड छाडेर गए पछि पार्टीलाई कुनै असर परेको छैन, बरु पार्टीमा शुद्धिकरण भएको छ ।’ लोभी पापीहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क गर्दै उनले राम्रा नेता तथा कार्यकर्ताहरु जसपामै छन्, जानेहरुको मूल्याङ्कन जनताले नै गर्ने बताए । मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुस्लिम लगायत शोषित उपेक्षित जनताको थलो नै जसपा हुने अध्यक्ष यादवले दावी गरे ।

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पार्टीका कार्यकारिणी सदस्यहरू अशोक राई, महेन्द्र राय यादव, रेणु यादव, मृगेन्द्र कुमार सिंह यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, वन तथा पर्यटन मन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य मनिष सुमन, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले जसपा वैकल्पिक शक्तिको रुपमा स्थापित भएको भन्दै सङ्गठन सुदृढिकरण अभियानमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

पार्टीका प्रदेश सचिव दिनेश कुमार यादवले दिएको जानकारी अनुसार कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका जसपा आवद्ध स्थानीय तहका जनप्रतिनिधिहरु, अगुवा नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस