प्रदेश २ मा सुरु भएन कांग्रेसको वडाअधिवेशन

जनकपुरधाम । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ। शुक्रबारदेखि मुलुकको ५६ वटा जिल्लामा वडा अधिवेशन चलिरहेका बेला प्रदेश २ मा भने सदस्यता विवादका कारण वडा अधिवेशन सुरु हुन सकेको छैन।

प्रदेशमा क्रियाशील सदस्यलाई लिएर रहेको विवादका कारण प्रदेशको ८ मध्ये कुनै जिल्लामा अधिवेशन हुन सकेको छैन। नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले जिल्लाको दुई वटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन हुन नसकेको बताए।

चार वटा क्षेत्र रहेको धनुषाको दुई वटा क्षेत्रमा सदस्यतालाई लिएर विवाद चलिरहेको छ।

गिरीले क्षेत्र नम्बर २ र ३ मा नवीकरण वा क्रियाशील सदस्यतालाई लिएर कुनै किसिमको विवाद नरहे पनि क्षेत्र नम्बर १ र ४ मा विवाद रहेको बताए।

‘क्रियाशील सदस्यतासम्बन्धी फर्म भर्ने जिम्मा क्षेत्रीय सभापतिहरूलाई नै दिइएको थियो, क्षेत्रीय सभापतिहरूले केन्द्रीय सर्कुलरअनुसार फर्म नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रीय छानबिन समितिले देखिरहेको छ’, उनले भने।

धनुषाको दुवै क्षेत्रको विवाद समाधान भएलगत्तै यहाँ पनि वडा अधिवेशन छिट्टै सुरु हुने सभापति गिरीले बताए। नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेशमा एक साताभित्रै वडा अधिवेशन हुने बताए।

प्रदेशभरिको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न प्रयास भइरहेकाले यसको चाँडै समाधान हुने उनले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस