धनगढी, ४ असोज । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र अनुसन्धान गरेको हो । यसै क्रममा अख्तियारले जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आशंका गरिएका कर्मचारी तथा जग्गा कारोबार गर्नेहरूलगायत १०० जनाभन्दा बढीसँग बयान लिएको छ ।
जग्गा अनियमितताको विषय छानबिनका लागि भदौ तेस्रो साता कञ्चनपुर आएको अख्तियारको टोलीले उनीहरूसँग बयान लिएको हो । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्रीवितरण र लिजमा दिएका थिए । ६ सय ३८ बिघा जमिन रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ ।
अख्तियार स्रोतका अनुसार हालसम्म समितिका कर्मचारीसहित जग्गा लिने १०० भन्दा बढीको बयान भइसकेको छ । केही ब्यक्ति बयान दिन आएका छैनन् । उनीहरूको नाम सार्वजनिक गरी बयानका लागि केन्द्रमै झिकाउने छानबिनमा संलग्न टोलीले जनाएको छ ।
त्यसैगरी, अख्तियारको टोलीले नगर विकाससँग सम्बन्धित कागजात मालपोत र नापी कार्यालयबाट झिकाएको छ । त्योबेला जग्गा बिक्रीवितरण गर्दा हस्ताक्षर गर्ने मालपोत र नापीका कर्मचारीलाई पनि बयानमा झिकाइने अख्तियार टोलीको भनाइ छ । यसरी जग्गा लिज र किनबेचमा राजनीतिक दलका नेता, समाजसेवी, व्यापारी, व्यवसायी, प्राध्यापक, विद्यार्थी नेता र सञ्चारकर्मीको संलग्नता देखिएको बुझिएको छ । सो मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन अवस्थामा छ । जग्गा लिजमा लिनेले उपभोग गर्न नपाएको भन्दै मुद्दा दायर गरेका थिए ।
नापी विभागका उपसचिव पुष्कर चन्द नेतृत्वसहितको अख्तियार दुरुपयोग अनुसन्धानको विशेष टोलीले महेन्द्रनगर आएर छानबिन गरिरहेको हो । छानबिनका लागि विशेष टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धानको सुदूरपश्चिम क्षेत्रीय कार्यालय महेन्द्रनगरले समेत सहयोग गरिरहेको छ ।
वर्षोंदेखि भूमाफियाको कब्जामा रहेको जग्गा विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रमा गम्भीर प्रकृतिको उजुरी परेपछि अख्तियार नेतृत्वले यसलाई गम्भीर रूपमा लिएर छानबिनका लागि खटाएको जनाइएको छ ।
स्रोतका अनुसार भूमाफियाको कब्जामा रहेको जमिनलाई वारपार गरेर मात्र अख्तियारको टोली महेन्द्रनगरबाट फर्किनेछ । राजधानी दैनिकबाट