आजदेखि देशव्यापी रुपमा भेरोसेल खोपको पहिलो मात्रा लगाउँदै

जनकपुरधाम, ४ असोज । कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजदेखि निरन्तर ११ दिनसम्म सो खोप लगाइनेछ ।

अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारील जानकारी दिए । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए ।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने उनले जानकारी दिए । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइनेछ । काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ ।

बाँकी जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिने तयारी मन्त्रालयले गरेको छ । त्यसबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस