‘पशु शाखामा जुकाको औषधि पनि चिनजानकालाई मात्रै दिन्छन्’

राजविराज, ४ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकहरुले पशु सेवा शाखाबाट जुकाको औषधि बाहेक अन्य औषधिहरु नपाउने गरेको गुनासो गरेका छन् । सो शाखाबाट औषधि खरिद गर्ने नाममा लाखौं रुपैयाँ हिनामिना भएको विषयमा ‘मधेश लाइभ’ले तथ्यांक सार्वजनिक गरेपछि कृषकहरु आक्रोशित बनेका हुन् ।

‘लाखौंको औषधि खरिद भएको विषय जानकारीमा आयो तर आफुहरु वर्षौदेखि सेवा लिइरहदा पनि जुकाको औषधि बाहेक केही पाउन सकेका छैनौं’ अनन्दीदेवी मण्डलले भनिन्–‘जहिले औषधि बाहिरबाटै लिन भन्छन्, खरिद भयो वा भएन त्यो थाहा छैन् तर निःशुल्क ल्याइएका औषधि पनि आफुहरुले पाउन सकेका छैनौं ।’

यसैगरी अर्का स्थानीय कृषक गंगाप्रसाद साहले खरिद गरिएका औषधिबारे जनप्रतिनिधिहरुले पनि चासो लिनुपर्ने जरुरी रहेको बताए । ‘बेला बखत पशु विरामी हुँदा डाक्टरसा’ब घरमै आएर उपचार नगरेको पनि होइन्, औषधि पनि दिनुहुन्छ तर निःशुल्क औषधि (जुकाको औषधि बाहेक) दिएको इतिहासै छैन्’ उनले भने–‘रह्यो कुरा शाखाले निःशुल्क पाएका र खरिद गरिएका औषधिहरु कहाँ जान्छ, त्यो चैं बुझ्न मन लागेको छ र यसतर्फ यहाँका जनप्रतिनिधिहरुले पनि चासो दिनुपर्ने जरुरी छ ।’

यसैगरी अर्का स्थानीय हसमुल खातुनले जुकाको औषधि पनि मुख हेरी–हेरी वितरण हुने गरेको गुनासो गरिन् । ‘सकिसकेको छ जहिले उहाँहरु भन्नुहुन्छ । धेरै किच किच गरेपछि मात्रै घण्टा उभाएर मात्रै जुकाको औषधि पाए’, उनले भनिन् ।

पशु सेवा शाखाले गत वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ३४ प्रकारका औषधिहरु निःशुल्क पाएको छ । तर, निःशुल्क वितरण गर्नुपर्ने औषधि नै देखाएर खरिद गरेको भन्दै शाखाका प्रमुख चन्द्रनारायण पण्डित र सहायक प्रमुख रमेशप्रसाद यादवको मिलोमतोमा गाउँपालिकाको लाखौं रुपैयाँ हिनामिना गरेको मधेश लाइभसँग रहेको तथ्यांकमा छ ।

उता, शाखाका प्रमुख पण्डितले उपलब्ध रहेको औषधिहरु दिँदै आएको बताए । ‘हामीसँग उपलब्ध रहेका औषधिहरु निःशुल्क नै दिदैआएका छौं, नभएका औषधिहरु त लेख्नैपर्यो नि’ उनले भने ।

यो पनिः

छिन्नमस्ता गाउँपालिकाः पशु सेवा शाखामा औषधि खरिद गर्ने नाममा लूट !

Author:



क्याटोगरी छान्‍नुहोस