प्रकृतिप्रेमी डा. सिंहः घरमै बनाए मिनी चिडियाखाना

 

जनकपुरधाम, १० असोज । संसारमा मानिसको थरिथरिका शौक हुन्छ । यस्तै पृथक शौक भएका व्यक्तित्व हुन् धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्वर– १ निवासी डा. एस.के. सिंह । उनले आफ्नै घर कम्पाउण्डमा जैविक विविधता वनस्पति एवम् विरुवाको संरक्षण गर्दै थरिथरिका चराचुरुङ्गी तथा जीवजन्तु पालेका छन् ।

जनकपुरधामको भानु चौक नजिक वकिल टोलमा रहेको डा. सिंहको पैतृक घर मिनी चिडियाखाना जस्तै छ । चिकित्सा पेशामा संलग्न ५१ वर्षिय उनी आफ्नो आम्दानीको केहीहिस्सा जैविक विविधता र चराचुरुङ्गी संरक्षणमै खर्चिने गरेका छन् । विद्यार्थी जीवनकालदेखि नै प्रकृतिमा रमाउने शौखका धनी डा. सिंहको घरमा सय भन्दा बढी चराचुरुङ्गी छन् ।

शुरुमा काठमाण्डौबाट चार ओटा मात्र चरा ल्याएका थिए, अहिले वंश वृद्धि हुँदै दर्जनौं संख पुगेको छ । चराचुरुङ्गीले अनुकुल प्राकृतिक वातावरण पाएका कारण ब्रिडिङ्ग हुँदै सङ्ख्या बढ्दै गएको उनी बताउँछन् । ‘घर परिसरमा लभ वर्ड, बज्रिगर, क्यानरी, परेवा, सुगा, मुसा सहितका चराहरुको करिब २ दर्जन भन्दा बढी प्रजाति छन्’ उनी भन्छन् ‘म चिकित्सक पेशा र नेचर लभर हुँ, कि त म चिकित्सक पेशामा व्यस्त हुन्छु कि त प्रकृतिमै रमाउँछु ।’ पालिएका चराहरु काठमाण्डौको व्यवसायिक फार्महरु मार्फत मुम्बई, अहमदावाद, हैदरावादबाट मगाएको डा. सिंह सुनाउँछन् । चराचुरुङ्गीहरुका लागि अनुकुलकै वास स्थल बनाईएको छ ।

यसैगरी उनको गार्डेनमा जापानी सुन्तला, चाइनिज अम्बा, अर्किडका प्रजातिहरु, सुनाखरी, हेलिकोनिया, स्टार फ्रूट, करोना, स्याउ, कागती, बुद्ध बेम्बो सहित दुई सय प्रजातिका वनस्पतिहरु छन् । चराचुरुङ्गीको बोलीको शंकेतसँगै डा. सिंह निद्राबाट ब्युझन्छन् । विहान उठेर नित्यकर्मबाट निवृत भएपछि उनी केही घण्टा बनस्पति तथा पालिएका चराचुरुङ्गीको स्याहारमा व्यस्त हुन्छन् । मनोरम वातावरणमा रमाउँदैआएका प्रकृतिप्रेमी डा. सिंह विहान ९ बजे आफैले सञ्चालन गरेको काब्या हस्पिटल पुग्छन् । मानवसेवा पश्चात पुनः बेलुकी ४ बजेतिर उनी घर फर्कन्छन् । प्रकृतिको मनोरम दृष्य अनि चराचुरुङ्गीको सुरमय बोलीमा दिनभरिको मानसिक थकान मेटाउने र त्यसमै रमाउने उनको दिनचर्या नै बनिसकेको छ ।

जतिसुकै मानसिक थकान भए पनि आफुलाई आफ्नै घरको वातावरणमा आनन्द मिल्ने गरेको बताउँदै उनी भन्छन् ‘जस्तोसुकै अशान्त अवस्थामा विभिन्न प्रजातिका चराचुरुङ्गी, र फूलहरुले मेडिटेसनको काम गरेको छ, नाच्दै गरेको चराचुरुङ्गी तथा फूल्दै गरेका रङ्गीविरङ्गी फूल हेरेर म प्रकृतिको संसारमा रमाउने गर्छु ।’ बढ्दो प्रदुषण, वन विनास तथा व्यस्त जीवनशैलीको अवस्थामा आफ्नै घरबाट हराभरा बनाउनुका साथै प्रकृतिको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने डा. सिंहको भनाइ छ ।


काव्या वागमा रहेको विभिन्न प्रजातिका चराचुरुङ्गी फूलहरु हेर्न प्रकृति प्रेमीहरु डा. सिंहको घर आउने गर्छन् । एकपटक आउने आगन्तुकहरु चिन्ता फिकिर भुलेर घण्टौ लट्ठिने गर्छन् । प्रकृतिप्रेमीहरु उनको घर आउन चाहन्छन् तर कोभिड १९ को उच्च जोखिमले गर्दा अवलोकन बन्द गरिएको छ ।

गंगासागर स्वच्छता अभियानका प्रणेता, पर्यावरण योद्धा प्रदेश सांसद रामअशिष यादवसँग प्रायःजसो डा. सिंहको संस्कृति र प्रकृति संरक्षण विषयमा गम्भिरतापूर्वक विचार मन्थन हुने गर्छन् । मानव सभ्यता का लागि पर्यावरण रक्षण एक दृढ संकल्पका साथ जनकपुरधामका प्रसिद्ध चिकित्सक डा सिंह ले जनकपुरधामस्थित आफ्नो निवास स्थान घरलाई पर्यावरण मैत्री घरको रुपमा विकास गर्न सफल भएका छन् । त्रेतायुगकालिन देवभूमि जनकपुरधाममै सहज ठाउँ खोजी गरेर सर्वसाधारणका लागि पर्यावरण मैत्री फुलबारी, विभिन्न प्रजातिका चराचुरुङ्गी, जीवजन्तु समेतको अवलोकन हुने गरी मिथिलाको संस्कृति एवम् परम्परा दर्शाउने उद्देश्यले निकट भविष्यमा नमुना पार्क बनाउने उनको दिर्घकालिन योजना छ ।

अयोध्याका राजा दशरथका सुपुत्र मर्यादा पुरुषोत्तम श्रीरामले पहिलोपटक जानकीजीसँग गिरिजास्थान फुलहरको पुष्पबाटिकामै भेंट भएको धर्मग्रन्थमा उल्लेख रहेकोले त्यसकै प्रतिकात्मक रुपमा बाटिका समेत बनाउन सकिने सोच मनमा रहेको उनी बताउँछन् । यद्यपी उक्त विषयमा भने अहिले निष्कर्षमा भने नपुगेको जानकारी दिँदै डा. सिंह भन्छन् ‘केही नयाँ गरेर देखाउने सङ्कल्प लिएको छु, मलाई विश्वास छ, सफल हुन्छु ।’

उनको शौखलाई मूर्त रुप दिन सघाएकी छिन् धर्मपत्नी डा. सोनिया सिंहले । उनी समेत पतिसँगै आफ्नै काब्या हस्पिटलमा स्त्री तथा प्रसुती रोग विशेषज्ञको रुपमा कार्यरत छिन् । पतिको अनुपस्थितिमा बगैंचाको स्याहार तथा चराचुरुङ्गीको दैनिक खानपानको जिम्मेवारी डा. सोनियाले सम्हाल्ने गर्छिन् । अस्पतालमा विरामीको सेवा बाहेकको समय उनले प्रकृतिमै भूलेर बिताउने गरेकी छिन् ।


को हुन् डा. एस. के. सिंह ?
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर–१ वकिल टोल निवासी प्रा. जयनारायण सिंह र सत्यभामा देवी सिंह को सन्तान हुन् डा. एस.के. सिंह । उनी स्कूलमा अध्ययनरत रहँदादेखि नै फूल लगाउने गर्दथे । प्रकृतिप्रेमी उनी बाल्यावस्थामा समेत फूलको विरुवाहरु रोप्न तथा स्याहार गर्न मन पराउँथे ।

उनले भारतबाट एम.बी.बी.एस.को पढाई उतीर्ण गरी काठमाण्डौ स्थित बीर अस्पतालबाट ईन्टरनल मेडिसिनमा एम.डी. गरेका हुन् । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा करिब ६ वर्ष एसोसिएट प्रोफेसर, ६ महिना बिर्तामोड स्थित अस्पतालमा काम गरेर पुनः जन्मथलो फर्के । जनकपुरधाममा जानकी मेडिकल कलेजमा करिब ४ वर्ष काम गरेर आफ्नै क्लिनिक सञ्चालन गरे भने विगत चारवर्षदेखि आफैले स्थापना गरेको काब्या हस्पिटलमा सेवारत रहेका छन् । अत्यन्त सुविधा सम्पन्न एवम् अनुभवी चिकित्सकहरु कार्यरत उक्त अस्पताल यस क्षेत्रकै व्यवस्थित तथा गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालको रुपमा रहेको छ ।

यस अतिरिक्त उनी समाजिक क्षेत्रमा समेत सक्रिय रहँदैआएका छन् । डा. सिंहले समयसमयमा ग्रामिण भेगमा निशुल्क स्वास्थ्य शिविर तथा बालबालिकाहरुकालागि शैक्षिक सामग्री उपलब्ध गराउँदैआएका छन् ।

मानवीय सेवाको साथै प्रकृति संरक्षण प्रति समर्पित चिकित्सक दम्पती डा सिंहको पर्यावरण संरक्षण र समाजसेवा कार्यलाई सबै अनुसरण गर्नुपर्दछ । मानव सभ्यताका लागि बढ्दो वातावरण प्रदूषण नियन्त्रण गर्न प्रकृति रक्षण अभियानलाई सार्थक बनाउन हामीले आफ्नो स्तरबाट प्रयासरत रहनुपर्ने गंगासागर स्वच्छता अभियानका प्रणेता एवम् प्रदेश सांसद यादवको सुझाव छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780