पर्यटन प्रवर्द्धनकालागि एकीकृत योजना बनाउन अध्यक्ष यादवको आग्रह

जनकपुरधाम, १२ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनकालागि एकीकृत योजना निर्माणमा जोड दिएका छन् । होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले मंगलबार आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन सम्भव छैन्’ उनले भने–‘यसकोलागि प्रदेश सरकारले एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ यस प्रदेशमा रहेको धार्मिक र ऐतिहासिक क्षेत्रले विश्वभरिकै पर्यटकलाई भित्र्याउन सक्ने सम्भावना बोकेकाले ती धार्मिक र ऐतिहासिक क्षेत्रलाई समेटेर एकीकृत योजना बनाउन अध्यक्ष यादवले प्रदेश सरकारलाई आग्रह पनि गरे ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनकोलागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा विकास निर्माणको कार्य सुरु गरिसकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढ्ने बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवर्द्धनकालागि हरेक पक्षसँग सहकार्य गर्न तयार रहेको उनको कथन छ । सोही कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह लगायतले पनि बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस