पति चड्ने सवारीको कर छुट गर्न सप्तरीकी सांसदको चिठ्ठी !

राजविराज । सवारी साधनमा बढ्दो करका कारण सर्वसाधारणले दुःख गरेर खरिद गरेका सवारी साधन पनि निल्नुनओकल्नु भइसकेको छ । यद्यपी, सरकारले करमा सहुलियत गर्नेतर्फ ध्यान नदिएको गुनासो पनि सर्वत्र छ । जनताबाटै चुनेर गएका जनप्रतिनिधिहरु पनि थप कर वृद्धि नै गर्नुपर्ने पक्षमा वकालत गरिरहेकाले सर्वसाधारणहरु करको मार खेप्न बाध्य छन् । तर, केही जनप्रतिनिधि भने आफ्नो सवारी साधनको कर मिनाहा नै हुनुपर्छ भनेर मरिहत्तै गर्ने गरेका बेलाबखत चर्चा पनि हुने गरेको देखिन्छ ।

यस्तै चर्चाको पात्र बनेका छन्, प्रदेश २ की सांसद प्रमिला यादव । सप्तरीको राजविराज नगरपालिका–२ की सांसद यादवले आफ्ना पति अशोक यादवले प्रयोग गर्दैआएको मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालय लहानलाई पत्र नै लेखेको सार्वजनिक भएपछि सांसद यादवको चर्चाको पात्र बनेकी हुन् ।

नेकपा माओवादी केन्द्रबाट समानुपतिकतर्फकी सांसद यादवले स्वकीय सचिव समेत रहेका पति अशोकले प्रयोग गर्दै आएको स. ३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सालसम्मको कर मिनाहा गरिदिन यातायात कार्यालय लहानका प्रमुखलाई सम्बोधन गरेर चिठ्ठी लेखेकी छन् ।

चिठ्ठी लिएर अशोक स्वयं नै यातायात कार्यालय लहान पुगेका थिए । तर, यातायात कार्यालय लहानका प्रमुख मीन भट्टराईले कर छुट गर्ने आफ्नो अधिकार नरहेको बताएपछि अशोकले करबापतको पैसा तिरेका थिए । प्रमुख भट्टराईले कर मिनाहाका लागि मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने भनेपछि सांसद यादवका पति अशोकले करबापतको रकम तिरेको बुझिएको छ ।

उता, सांसद यादवले आफ्नो लेटरप्याड दुरुपयोग भएको प्रतिक्रिया दिइन् । ‘२०७५ सालतिरकै लेटरप्याड हो, यातायात कार्यालय पुगेका श्रीमानबाट लेटरप्याड यताउता हुनसक्छ’ उनले मधेशलाइभसँग भनिन्–‘त्यहाँका विचिौलियाहरुले त्यस्तो विवरणसहितको चिठ्ठी लेखेको हुनसक्छ, लेटरप्याड दुरुपयोग भएकै हो ।’

Author:



क्याटोगरी छान्‍नुहोस