प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिने

जनकपुरधाम, १३ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असोज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ ।

सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । मुख्यमन्त्रीमा निर्वाचित भएको दल जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ ।

कुल ५५ सांसद जसपामा रहेकामा १६ जनाले लोसपा रोजेका थिए । जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । केन्द्रदेखि प्रदेशसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेकाले मुख्यमन्त्री राउतले प्रदेशसभामा सहजै विश्वासको मत लिन सक्छन् ।

उनको दल जसपासँग ३९, कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस