‘गरिब’लाई १० हजार दिने कार्यविधि मन्त्रिपरिषदमा, पाँच अर्ब दसैंअघि नै बाँडिने

जनकपुरधाम । अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषद्मा पठाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख गरिब तथा विपन्न नागरिकलाई १० हजारका दरले ५ अर्ब रुपैयाँ वितरण गर्ने व्यवस्था गरिएको छ । उक्त भत्ता वितरणका लागि अर्थमन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

‘कोभिडका कारण रोजगारी गुमाएका गरिब तथा विपन्न नागरिकलाई सिधै नगद हस्तान्तरण गर्नका लागि कार्यविधि निर्माण गरी मन्त्रिपरिषदमा पठाइएको छ’, आचार्यले भने ।

मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि भत्ता वितरण थालिने उनले बताए । भत्ता दसैं अगाडि नै वितरण गर्ने तयारीसमेत भएको उनले बताए । विगतमा सरकारका कुनै सुविधा लिइरहेका वा दोहोरोपन नहुने गरी स्थानीय तहमार्फत भत्ता वितरण हुने प्रवक्ता आचार्यको भनाइ छ ।

सिधै नगद हस्तान्तरण गर्ने गरी नेपालमा पहिलोपटक यस्तो कार्यक्रम ल्याइएको हो । गरिबको पहिचान कसरी गर्ने, त्यसको मापदण्ड के हुने र कसले प्राप्त गर्ने जस्ता सम्पूर्ण व्यवस्था कार्यविधिमा उल्लेख गरेको आचार्यले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस