एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनको काम कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । तर, एमालेले अवरोध जारी राखेपछि सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसमबन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक–२०७८ र राष्ट्र ऋण उठाउने विधेयक– २०७८ छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन–२०७८ पेस पनि गरे । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक १९ असोज दिउँसो १ बजे बस्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस