प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा बढ्यो चहलपहल

राजविराज, २२ असोज । बडादशैं सुरु भएसँगै मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिरमा श्रद्धालुहरुको चहलपहल सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण गत वर्ष बडादशैंमा पनि मन्दिर सुनसान थियो । यस वर्ष भने कोरोनाको संक्रमण दर घटेसँगै मन्दिरमा श्रद्धालुहरुको चहलपहल सुरु भएको हो ।

शक्तिपीठमा फूलहाइस (भाकल) गराए सन्तान प्राप्तिका साथै मनोवाञ्छित फल प्राप्ति हुने जनविश्वास रहिआएको छ । संकटपूर्ण अवस्थामा माता छिन्नमस्ताको स्मरणले मात्र सहायता प्राप्त हुने आस्थाले शक्तिपीठमा नेपालभरिकासाथै भारतको विहारदेखि नयाँ दिल्लीसम्मका श्रद्धालुहरु दर्शन एवम् पुजापाठकालागि आउने गर्छन् ।

भाकल पुरा भएपछि विशेष पुजापाठ गर्न बडादशैंमा पुनःआएर खसी तथा बोकाको बली चढाउनुपर्ने परम्पराअनुसार वर्षेनी बडादशैं सुरु हुनु अघि नै मन्दिरमा भिडभाड हुने गर्छन् । तर, गत वर्ष भने कोरोना भाइरसको त्रासका कारण मन्दिर सुनसान नै रह्यो ।

यस वर्ष संक्रमण दर घटेसँगै मन्दिरमा चहलपहल सुरु भएको शक्तिपीठका पीठाधिस महाकान्त ठाकुरले जानकारी दिए । ‘गत वर्ष बडादशैं सुरु भएको दोश्रो दिनसम्म ३–५ सय मात्रै श्रद्धालुहरुले दर्शन एवम् पुजापाठ गरेका थिए’ उनले भने–‘यस वर्ष कोरोना पनि घट्दो नै छ, र बडादशैं सुरु हुनु एक साताअघिदेखि नै दर्शन एवम् पुजापाठ गर्ने श्रद्धालुहरुको संख्या बढ्दो छ ।’

मन्दिर व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका पीठाधिस महाकान्त ठाकुरले यद्यपी कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डको पालना गरेर दर्शन एवम् पुजापाठका लागि आउन सबैमा आग्रह गरे । ‘स्वास्थ्य मापदण्डको पालना त गर्नु नै पर्छ, त्यसमा हामी पनि जदारुकताका साथ लागेका छौं’ उनले भने–‘यस अतिरिक्त पनि श्रद्धालुहरुको सुविधालाई मध्यनजर गर्दै धर्मशाला, सरसफाई, खानेपानी, शुलभ शौचालय, पार्किङ्गस्थल र सुरक्षाको दृष्टिकोणले सीसी क्यामेरासहितका सम्पुर्ण व्यवस्थापन गरिसकेका छौं ।’

उनका अनुसार बडादशैंको सप्तमी, अष्टमी, नवमी र दशमीका दिन अत्यधिक भिडभाड रहने गरेको मन्दिरमा यस वर्ष ५ लाखभन्दा बढी श्रद्धालुले दर्शन गर्नेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस