भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

बीबीसी। भारतको केरला राज्यमा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु हुनेमा पाँच बालबालिका पनि रहेका छन् ।

धेरै मानिसहरू अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने सक्ने अधिकारीहरूले बताएका छन् ।

केही दिनदेखिको लगातारको वर्षाले खतरानकब बाढीपहिरो निम्त्याएको हो । बाढीले स–साना गाउँका थुप्रै पुलहरू पनि भत्काएको छ । यसमा कोटायाम र इडुक्की सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पर्दछन् ।

सेनाको हेलिकप्टर प्रयोग गरी मान्छे फसेको ठाउँहरूमा विभिन्न उपभोग्य सामान आपूर्ति गरिराखिएको छ । अहिलेसम्म हजारौँको उद्धार भइसकेको छ भने केरलाभर १८४ राहतका क्याम्पहरू स्थापना गरिएको छ । त्यहाँ ८ हजार बढीलाई खाना, कपडा र सुत्ने व्यवस्था मिलाइएको छ ।

सरकारले घर र खेतीपाती गुमाएका पीडितहरूका लागि विशेष आर्थिक सहयोगको घोषणा पनि गरेको छ । भारतको मौसम पूर्वानुमान विभागले यसअघि आगामी दुई तीन दिन अझै भारी वर्षा भइरहने बताएको छ । यता प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका परिवारप्रति शोक व्यक्त गरेका छन् ।

केरलामा भारी वर्षा र पहिरोलाई सामान्य नै मानिन्छ । तर, २०१८ पश्चात् त्यहाँ प्राकृतिक प्रकोपले भयावह रूप लिँदा ४०० बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा धेरै मानिसहरू विस्थापित भएका छन् ।

सहरका थुप्रै घरहरू बाढी तथा पहिरोले बगाएको, भत्काएको तस्बिरहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस