कोभिडका कारण बालबालिकामा मानसिक समस्या : युनिसेफ

जनकपुरधाम । कोभिड– १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएको छ । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।

कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसंगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहेकाले उनीहरूको समग्र वृत्ति–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।

युनिसेफले हालै जारी गरेको प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा सातमध्ये एक जना बालबालिका लकडाउनबाट प्रत्यक्ष प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढीले शिक्षाको अवसर गुमाएका छन् । अस्तव्यस्त भएको दिनचर्या, शिक्षा, मनोरञ्जनका साथै पारिवारिक आय र स्वास्थ्यको चिन्ताजस्ता बाधाहरुका कारण धेरै बालबालिका र किशोरकिशोरीले डर, क्रोध र भविष्यप्रति चिन्ता महसुस गरिरहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर १० देखि १९ वर्ष उमेर समूहका सातमध्ये एक किशोरकिशोरी मानसिक समस्या लिएर बाँचिरहेको युनिसेफले अनुमान गरेको छ । ‘विश्वमा हरेक वर्ष करिब ४६ हजार किशोरकिशोरीको मृत्यु आत्महत्याबाट हुन्छ । नेपालमा पनि बालबालिकाको आत्महत्याको तथ्यांक अत्यासलाग्दो छ । गत पाँच वर्षमा देशभर दुई हजार ४३७ बालबालिकाले आत्महत्या गरे । यसमा बालक ९६५ र बालिका एक हजार ४७२ छन्,’ युनिसेफले भनको छ ।

युनिसेफका अनुसार अहिले बालबालिकामा ठूलो स्वास्थ्य समस्याको सानो भागमात्रै देखिएको हो । कोभिड १९ भन्दा पहिलेदेखि नै यो विषयमा धेरै चासो र गतिलो लगानी नभएकाले बालबालिका र किशोरकिशोरीले मानसिक स्वास्थ्य संकट भोग्नुपरेको प्रतिवेदनको निचोड छ ।
विश्वभर नै सरकारी स्वास्थ्य बजेटको करिब २ प्रतिशत मात्र मानसिक स्वास्थ्यमा खर्च गर्ने भनेर छुट्याउने गरिएको छ । ‘धनी, गरिब सबै देशमा बालबालिकाको क्षमता वृद्धिको एक महत्वपूर्ण तत्वप्रति असाध्यै थोरै लगानी भएको हामीले पाएका छौं । यसमा परिवर्तन आवश्यक छ,’ युनिसेफको प्रतिवेदनले भनेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले महामारीको बेला बालबालिकाको मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सातवटै प्रदेशमा गरेको सर्वेक्षणमा पनि १६ वर्ष उमेर समूहका ७ प्रतिशत र १७ वर्षका ६ प्रतिशतमा मानसिक समस्या देखिएको थियो । सर्वेक्षणले प्रदेश १ का किशोरकिशोरीमा बढी मानसिक समस्या देखाएको छ । लैङ्गिक हिसाबले किशोरीहरू बढी मानसिक समस्यामा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस