विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ वर्षमा साढे नौ हजारभन्दा बढीले विदेशी भूमिमा ज्यान गुमाएका छन्। यो तथ्यांक वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराएको विवरणमा आधारित हो।

यीबाहेक श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने र बोर्डसँग राहत रकम नलिनेको संख्या अझै धेरै हुनसक्ने विज्ञहरूले औंल्याउँदै आएका छन्। बोर्डका अनुसार १३ वर्षमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय ६४ छ।

यसरी मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय बढीले ज्यान गुमाएको बोर्डले जनाएको छ। बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर निधन भएका परिवारलाई सात लाख रूपैयाँ उपलब्ध गराउँछ भने बिमा कम्पनीहरूले म्यादी जीवन बिमा गरेकालाई १४ लाख रूपैयाँ हाराहारी उपलब्ध गराउँछन् ।

यस अवधिमा सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ को मृत्यु भएको छ। त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ४३, कतारमा एक हजार आठ सय ९५, संयुक्त अरब इमिरेट्स (युएई) मा नौ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमानमा ७४ को निधन भएको बोर्डको तथ्यांकमा उल्लेख छ। नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस