बाढी पसेपछि विराटनगर विमानस्थल जलमग्न

विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो ।

विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वेमा पानी जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार बिहानबाट विमानस्थलमा बाढीको पानी पसेको हो । बाढीको पानी निरन्तर पसे हवाई उडान प्रभावित हुने उनले बताए ।

वि.सं. २०७४ सालमा आएको बाढी पस्दा विमानस्थल एक साताभन्दा बढी समय बन्द भएको थियो । नेपाली सेनाले हिलो पन्छाएपछि सेवा सुरु भएको थियो ।

बुद्ध तथा यति एयरले काठमाडौं-विराटनगरका लागि आज तय भएका सबै उडान रद्ध गरिएको जानकारी दिएका छन् ।

‘वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध हुँदा आजको हाम्रो काठमाडौं–विराटनगरको /vv सम्पूर्ण उडान रद्द गरिएको छ,’ बुद्ध एयरले भनेको छ ।

त्यस्तै यतिले पनि उडान रद्ध गरेको जानकारी दिँदै भनेको छ- ‘अविरल वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भई उडान गर्न सक्ने अवस्था नभएको हुँदा काठमाडौं-विराटनगर-काठमाडौंका लागि निर्धारित आजका हाम्रा सम्पूर्ण उडानहरु रद्द गरिएकाे जानकारी गराउँदछाैँ ।’

Author:



क्याटोगरी छान्‍नुहोस