इनरुवा सबस्टेसन डुबानमा, कमान्डवाल बगायो, उपकरणहरूमा क्षति

बिराटनगर । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ ।

आउँदो पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउन्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरू डुबेका छन् ।

बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्‍याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन । त्यहाँ रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ,” घिसिङले भने ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । यस्तै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माणस्थलमा ल्याएको थियो । बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरूमा क्षति पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस