लाइसेन्सको फारम खुल्यो, अनलाइनमार्फत यसरी दिनुस् आवेदन

जनकपुरधाम।  यातायात व्यवस्था विभागले कोरोना महामारीका कारण १६ वैशाखदेखि बन्द रहेको लाइसेन्सको आवेदन फारम खोलेको छ ।

कोटा सिस्टमबाट आवेदन खुलाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । ‘जुन यातायात कार्यालयलको परीक्षा लिने क्षमता जति छ , त्यहीअनुसार कोटा निर्धारण गरेका छौँ,’ उनले  भने ।

हाल देशभर २१ वटा यातायात कार्यालयहरूले परीक्षा लिइरहेका छन् । यसअघि फारम भरेका करिब ३ लाख ५० हजारले ट्रायल दिन बाँकी छ । अब फारम भर्नेहरूले भने सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशाोधित) अनुसार परीक्षा दिनुपर्नेछ ।

के छ निर्देशिकामा ?

निर्देशिकाअनुसार अब लिइने प्रयोगात्मक परीक्षा पहिलेभन्दा केही सहज हुनेछ । यसअघि सानो गल्तीमा पनि ट्रायल फेल हुने नियम भए पनि अब विभिन्न चरणअनुसार ७० अंक ल्याए लाइसेन्स पाउन सकिन्छ ।

तर, यसअघि ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने ८० अंक ल्याउनुपर्ने विभागले जनाएको छ । सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार यो नियम के, ए र बी क्याटेगोरीका सवारीमा मात्र लागू हुनेछ ।

तुरुन्तै लाइसेन्स

परीक्षार्थीलाई ट्रायल पास गरेर राजस्व बुझाएपछि तुरुन्त अस्थायी लाइसेन्स दिने विभागको योजना छ । सवारी तथा यातायात ऐन २०४९ को दफा ५० मा सुरुमा एक वर्षको परीक्षणकाल रहने प्रावधान छ । चालकले एक वर्षको अवधिमा पाँच पटकभन्दा धेरै गल्ती नगरे स्थायी लाइसेन्स दिइने विभागले जनाएको छ ।

पीभीसी कार्ड प्रयोग गरिएको अस्थायी लाइसेन्सलाई ट्राफिक प्रहरीले क्यूआर कोडमार्फत तुरुन्त जाँच गर्न सक्ने हुँदा नक्कली लाइसेन्सको सम्भावना कम हुने विभागको विश्वास छ । त्यस्तै, यसमा इन्टरनेट नभएको अवस्थामा यसको होलोग्राम र यूभी लाइट डिटेक्टरले सक्कली वा नक्कली तुरुन्तै पत्ता लगाउन सकिन्छ ।

लाइसेन्स छपाइ सुरु हुने

स्मार्ट कार्डको अभावका कारण विगत एक वर्षदेखि रोकिएको लाइसेन्स छपाइ पुनः सुरु हुने भएको छ । ‘करिब डेढ महिनामा १४ लाख कार्ड आइपुग्छ, त्यसपछि हामी छपाइ सुरु गर्छौं,’ भुसालले भने ।

हाल करिब ८ लाख चालकले सबै प्रक्रिया पूरा गरे पनि लाइसेन्स पाउन सकेका छैनन् । खरिद प्रक्रियामा लाग्ने समय र कोरोनाका कारण धेरै लाइसेन्स छपाइ बाँकी रहेको भुसालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस