प्रदेश–१ मा २३.३७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । प्रदेश नम्बर–१ मा जनसंख्याको २३.३७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारीअनुसार हालसम्म सात लाख ५४ हजार ४२६ जनाले खोपको दुवै मात्रा (पूर्ण खोप) लगाएका छन् । यसैगरी, पहिलो मात्रा लगाउनेको संख्या ११ लाख १४ हजार ६८४ पुगेको छ । जसमध्ये भेरोसेल खोप लगाउनेको संख्या सबैभन्दा धेरै छ ।

हालसम्म ६ लाख ५९ हजार २६० जनाले पहिलो मात्रा र तीन लाख ४५ हजार ७९७ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन् । दुई लाख १४ हजार ३३६ जनाले कोभिसिल्डको पूर्ण मात्रा लगाएका छन् । यही खोप पहिलो मात्रा लगाउनेको संख्या चार लाख ५५ हजार ४२४ छ । जान्सनको खोप एक लाख ९४ हजार २९३ जनाले प्राप्त गरेका छन् । जान्सनको एक डोज खोप नै पूर्ण मात्रा हो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले तराई, पहाड र हिमाली जिल्लामा खोप अभियानलाई तीव्र ढंगले सञ्चालन गरिएको बताए । “संघीय सरकारबाट खोप प्राप्त हुने क्रमले गति पाएसँगै खोप अभियानले अझ गति लिनेछ,” उनले भने । कोरोना महामारी नियन्त्रण गर्न खोप सहयोगी भएकोले सर्वसाधारणमा खोपप्रति सकारात्मक धारणा बढ्दा अभियान सञ्चालन गर्न सहज भएको उनले जानकारी दिए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले दिएको जानकारीअनुसार केन्द्रबाट हालसम्म कुल २६ लाख ६८ हजार ९२० डोज खोप प्रदेश–१ लाई प्राप्त भएको छ । पछिल्लोपटक सोमबार कोभिसिल्डको दुई लाख १३ हजार डोज खोप काठमाडौंबाट आइपुगेको छ ।

आपूर्ति केन्द्रका निमित्त प्रमुख शम्भु साहका अनुसार हाल झापा, मोरङ र सुनसरीबाहेकका जिल्लामा  खोप पठाउने काम भइरहेको छ । “हामीले अहिले हिमाली जिल्लामा खोप पठाइरहेका छौँ । विशेषगरी अहिलेको खोप अभियान हिमाली जिल्लामा केन्द्रित छ,” साहले भने, “कोभिसिल्ड र भेरोसेलको थप मात्रा प्राप्त भएपछि फेरि खोप अभियान सञ्चालन गर्न तराईका जिल्लाहरूमा पठाउने योजनासाथ काम गरिरहेका छौँ ।” उनले अमेरिकी खोप फाइजर भने प्रदेशमा आइनसकेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस