धानबालीमा क्षति: ६५% सम्म क्षतिपूर्ति दिने निर्णय

जनकपुरधाम । वर्षा र बाढीपहिरोले धान बाली नष्ट भएपछि सरकारले किसानलाई क्षतिका आधारमा बढीमा ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने भएको छ। धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले क्षति बेहोरेका किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

असोज अन्तिम साताको वर्षाले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। १० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो।

क्षतिपूर्ति दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बन्नेछ। कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृतिका लागि पेस गर्नुपर्नेछ।

गत साताको काटेर सुकाएको धान वर्षाले डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो।

किसानलाई तत्काल राहत र क्षतिपूर्तिका कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाले माग गर्दै आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष आग्रह गरेकी थिइन्।

किसानले धानबालीको बिमा नगरेको कारण ठूलो क्षति बेहोर्नु परेको हो। किसानले पशुपालन, नगदेबाली, तरकारीको बिमा गर्ने गरे पनि धानको बिमा गर्ने गरेका छैनन्।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति भएको छ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड बराबरको धान नष्ट भएको छ। सुदूरपश्चिम क्षेत्रमा एक अर्ब ९१ करोड रूपैयाँ बरारबरको क्षति भएको छ। त्यसैगरी, वाग्मतीमा ५ करोड ८० लाख रूपैयाँ बराबरको धान नष्ट भएको छ।

सातै प्रदेशमा ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट भएको छ। वर्षाले बढी क्षति पु¥याएका जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, चितवन, नुवाकोट, नवलपरासी, स्याङ्जा, रूपन्देही, बर्दिया, कपिलवस्तु, बाँके, सुर्खेत, डोल्पा, जुम्ला, सल्यान, कैलाली र कञ्चनपुर छन्। मन्त्रालयले गरेको अध्ययनले बेमौसमी वर्षाले तीन प्रदेशका १५ जिल्लाको धानखेती बढी प्रभावित भएको देखाएको छ।

सबैभन्दा बढी क्षति बेहोर्नेमा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुमपूर्व, प्युठान जिल्ला छन्। लुम्बिनी प्रदेशमा एक लाख ६१ हजार २ सय २३ मेट्रिक टन धान नष्ट भएको हो।

बर्दियामा ४८ हजार चार सय ६८ टन, कपिलवस्तुमा ४० हजार ६ सय ४५ मेट्रिक टन, रूपन्देहीमा २४ हजार तीन सय ६१, नवलपरासीमा चार हजार एक सय २८, दाङमा १० हजार सात सय ४५, प्युठानमा चार हजार चार सय ३५ र पाल्पामा ६ सय ७८ मेट्रिक टन धान नष्ट भएको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ। कैलालीमा करिब ५४ प्रतिशत र कञ्चनपुरमा करिब ४२ प्रतिशत क्षति भएको छ। कैलालीमा ७० हजार र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती छ।

कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र हुन्। कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको थियो। बेमौसमी वर्षाले सुदूरपश्चिम प्रदेशको धान उत्पादनमा ५० प्रतिशत कमी आउने अनुमान छ।

डुबानमा परेर भिजेको धान खेतमै उम्रेको छ। पाकेर काट्ने बेला भएको धान ढलेर नष्ट भएको छ। प्रदेश १ मा बाढीले पनि धानबालीमा क्षति पुर्‍याएको छ। अन्नको भण्डार मानिने प्रदेश नम्बर २ मा भने धेरै क्षति पुगेको छैन। यो प्रदेशमा ८० करोड बराबरको क्षति भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस