जनकपुरधामदेखि पटनासम्मको बस पुन: संचालन

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधामदेखि पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो।

प्रदेश २ को राजधानी जनकपुरधामदेखि भारतको विहार राज्यको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा सुरु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए। उनले यातायात प्रालि र जनकपुरधाम उद्योग वाणिज्य संघको प्रयासबाट बस सेवा पुनः सुचारु भएको बताए।

कोरोना संक्रमणको सुरुवाती अवस्थामा २०७६ साल चैत ३ गतेदेखि नेपाल–भारत बस सेवा बन्द भएको थियो। जुन सेवा शनिबार राति ८ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको माँ जानकी जनकपुरधाम यातायातका अध्यक्ष चौधरीले जानकारी दिए।

नेपाल भारत मैत्री बस सेवा जनकपुरधामबाट पटनाका लागि प्रत्येक दिन बिहान १० बजे र राति ८ बजे तथा पटनाको गान्धी मैदानबाट जनकपुरधामका लागि बिहान ८ बजे र राति १० बजे छुट्ने चौधरीले बताए।

२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र बिहारको पटनाबाट बिहारका मुख्यमन्त्री नितिशकुमारले हरियो झण्डा देखाएर नेपाल भारत मैत्री बस सेवाको शुभारम्भ गरेका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस