न्यायालयको विवादः सर्वोच्च बाहिर पक्ष र विपक्षीमा नाराबाजी

काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्नेदेखि नेपाल बार एसोसिएसन २१ दिनदेखि आन्दोलनमा छ ।

आन्दोलनका कारण नागरिकको सर्वोच्चका न्यायाधीशहरूले मुद्दा हेर्न छाडेको भन्दै सोको विरोधमा सर्वोच्च अदालत बाहिर आइतबार न्यायालय बन्द गर्न पाइँदैन भनेर केही युवाको समूहले नाराबाजी गरे । पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । जसका कारण दुई पक्षबीच झडपको स्थिति निम्ति सकेको छैन ।

गत शुक्रबारदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरू आन्दोलनमा छन् । आइतबार पनि कानुन व्यवसायीले सर्वोच्च गेटमा धर्ना दिए । कानुन व्यवसायी प्रधानन्यायाधीशलाई रोक्न गेटमा बसे पनि प्रधानन्यायाधीश राणा भने वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरे । कानुन व्यवसायीको विरोधकैबीच प्रधानन्यायाधीश राणाले आइतबारका लागि दुई एकल र आठवटा संयुक्त इजलासमा २ सय ७२ वटा मुद्दाको पेसी तोके । पेसी तोकेको मध्ये तीनवटा मुद्दामा आदेश र एउटा मुद्दामा फैसला भएको छ ।

आइतबार कानुन व्यवसायीले राणाविरुद्धको आन्दोलनका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश तानाशाह बन्न खोजेको बताए । उनले राणाले पदमा बस्ने नैतिकता गुमाइसकेको बताए ।

‘सैनिक तानाशाहविरुद्ध पनि सर्वोच्चले आदेश जारी गर्छ । राजा ज्ञानेन्द्रविरुद्ध पनि यस्तै भयो । तर, प्रधानन्यायाधीशलाई पनि तानाशाह जसरी हटाउनुपरेको छ । बारको कार्यक्रमलाई बिथोल्न भाडाका मानिस ल्याउने काम भएको छ,’ कार्कीले भने, ‘यसरी बस्ने प्रधानन्यायाधीश कसरी सम्मानित हुन सक्छ रु प्रधानन्यायाधीशले कसरी आफैंले आफैंलाई सुनुवाइ गरिराख्नुभएको छ रु यस्तो अनैतिक व्यक्ति इजलासमा बस्न सक्दैन ।’

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफूहरूको अन्तिम माग भनेको प्रधानन्यायाधीशको राजीनामा नै भएको बताए । उनले आफूहरूको आन्दोलनमा ‘ब्याकगियर’ नभएको बताए ।

सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीशको दैनिक छलफल

सर्वोच्च अदालतका न्यायाधीशहरू आइतबार पनि मुद्दा सुनुवाइ बहिष्कार गरेर छलफलमा जुटे । सर्वोच्च अदालतभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएपछि अबको नयाँ रणनीति के हुने भन्ने विषयमा छलफल केन्द्रित भएको सर्वोच्च स्रोतले जानकारी दियो ।

पछिल्लो समय इजलास बहिष्कार गरेका न्यायाधीशविरुद्ध नै सर्वोच्चका कर्मचारीहरू आन्दोलनमा उत्रने स्थिति सिर्जना भएपछि अबको निकासको विषयमा छलफल भएको बताइएको छ । न्यायालयमा सयांै मुद्दा रोकेर न्यायाधीशहरू दैनिक छलफलमा केन्द्रित भएपछि दैनिक मुद्दाको पेसी बुझ्न आउने सयौं नागरिक अन्योलमा छन् । अहिलेको यो अवस्थाका विषयमा न्यायाधीशहरूबीच दैनिक छलफल हुने गरे पनि निचोड निकाल्न सकेका छैनन् । न्यायालय सञ्चालनका लागि प्रधानन्यायाधीश राणाको राजीनामा एक मात्रै सर्त राखेर इजलास बहिष्कार गरे पनि तत्काल निकास निस्कने छाँट देखिन्न । दलहरूले समेत न्यायालयको निकास सोही ठाउँबाट हुनुपर्छ भनिरहेका बेला न्यायालयको काम झनै प्रभावित बन्ने भएको छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस