कोरोना महामारीले १६९ बालबालिका अभिभावक विहीन

काठमाडौं, ५ मंसिर । कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ ।

अन्तर्राट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोरोना संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकालाई अभिभावकत्व दिलाउन पहल भइरहेको जानकारी दिए । परिषद्ले विद्यालय सञ्चालन भइसकेको अवस्थामा सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अपिल गरेको छ ।

प्रतिवेदनमा नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १५ दशमलब ३ प्रतिशत बालबालिका श्रममा संलग्न रहेको उल्लेख छ । श्रममा संलग्न बालबालिकाको सन् २००८ मा भन्दा सन् २०२१ मा ५ लाखले कमी आएको छ । आर्थिक वर्ष २०७३-७४ देखि सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ । चालू आर्थिक वर्षमा १ हजार ७ सय ८८ जना बालबालिकाको उद्धार तथा व्यवस्थापन गरिएको धरेलले जानकारी दिए ।

३ सय ५५ सडक बालबालिकाको विभिन्न क्षेत्रबाट उद्धार गरी संरक्षण तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापनाको व्यवस्थापन गरिएको बताइएको छ । परिषद्ले चालू आर्थिक वर्षमा सडक बालबालिकामुक्त राष्ट्र घोषणाका लागि आधार खडा गर्ने तयारी गरेको छ ।प्रतिवेदनमा यो अवधिमा ७ बालबालिकाको मृत्यु, १४ जना गम्भीर घाइते र २ सय ६७ सामान्य घाइते भएको उल्लेख छ । सडक दुर्घटनाबाट प्रभावित बालबालिकामध्ये १ सय २८ जना पैदलयात्री, १ सय २३ मोटरसाइकलमा सवार, १० जना कारमा सवार, ८ जना साइकलमा सवार र १ जना अटोमा सवार रहेका तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, पाँच वर्षमुनिको उमेरअनुसार उचाइ नपुगेका-पुड्कोपना भएका बालबालिका ३१ दशमलब ५, उमेरअनुसार तौल नपुगेका २४ दशमलब ३ र उचाइअनुसार तौल नपुगेका (ख्याउटेपना) भएका बालबालिका १० प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।नेपाल बहु–सूचकाङ्क क्लस्टर सर्वेक्षण–२०७६ अनुसार २० देखि २४ वर्ष उमेर समूहका विवाहितमध्ये १५ वर्षभन्दा कम उमेरमा विवाह हुने ५ दशमलब २, १८ वर्षभन्दा कम उमेरमा विवाह हुने २२ दशमलब ७, १५ देखि १९ वर्ष उमेर समूहका १२ दशमलब ८ प्रतिशत विवाहित रहेको तथ्याङ्कमा उल्लेख छ । परिषद्ले चालू आर्थिक वर्षमा बालबालिका खोजतलास समन्वय केन्द्रमार्फत सडकमा वस्तु विनिमयमा संलग्न रहेका ५८ जना बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको जनाएको छ । नेपाल समाचार पत्रमा समाचार छ।

Author:



क्याटोगरी छान्‍नुहोस